बजार भाउभन्दा तेब्बर बढी मूल्यमा रासायनिक मल युरिया बेचेको आरोपमा दाङको गढवा गाउँपालिकाबाट तीन जना पक्राउ परेका छन्। देउखुरीको गढवा बजार र आसपासको क्षेत्रमा रहेका रासायनिक मलका बिक्रेताहरुले चर्को मूल्यमा युरिया बिक्री गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गढवा र जिल्ला प्रशासन कार्यालय दाङको संयुक्त अनुगमन टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
गढवा गाउँपालिका ५ का सुनील पोख्रेल, राजकुमार गुप्ता र युवराज पाण्डे पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) भरतसिंह राठौरका अनुसार उनीहरूको पसलबाट प्रतिबोरा सात सय २१ पर्ने रासायनिक मल (युरिया) लाई प्रतिबोरा दुई हजार चार सय रुपैयाँको दरले बिक्री गरी उपभोक्तालाई ठगी गरेका थिए ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १४ बमोजिम म्याद थप गरी अनुसन्धान भइ रहेको इन्स्पेक्टर राठौरले जानकारी दिनुभयो ।