गुल्मी : गुल्मीमा एकै दिन सोमबार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। इस्माका पाँच जना र चन्द्रकोट गाउँपालिकाका ७ जना गरेर १२ जनाको कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकृत पशुपति आचार्यले जानकारी दिए।
एक हप्तामा गुल्मीमा २३ जना कोरोना संक्रमित भएका छन्। सोमबार इस्मा गाउँपालिकामा ६६ र ३७ वर्षकी महिला, १५, १७ र १९ को पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो। चन्द्रकोटको गाउँपालिकामा २२, २७ र २८ को महिला तथा ३८, ५१, ६१ र ६६ बर्षको पुरुषमा कोरोना संक्रमण देखिएको सूचना अधिकृत आचार्यले जानकारी दिए ।
चन्द्रकोटका सात जना जनप्रतिनिधि र बैकका कर्मचारी हुन् । समुदाय स्तरमा संक्रमण देखिएपछि उनीहरुको कन्ट्याक ट्रेसिङ गर्ने चन्द्रकोट गाउँपालिका प्रमुख द्रोण बहादुर खत्रीले जानकारी दिए। इस्माका संक्रमित भने क्वारेन्टिनमा थिए । भारतबाट आएर क्वारेन्टिनमा बसेका वडा न ३, ५ र ७ का संक्रमित भएको गाउँपालिकाका सहस्वास्थ्य संयोजक गोकर्ण थापाले जानकारी दिए ।
सवैको प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रदेश नं ५ मा स्वाब परिक्षण गरिएको थियो । गुल्मीमा अहिलेसम्म संक्रमित चार सय पुगेका छन् । एक हप्ताको अवधिमा मात्र २३ जनामा कोरोना संक्रमणको देखिएको छ ।
दुई दिन अघि मुसिकोट नगरपालिकामा पाँच, सत्यवति गाउँपालिकामा चार, इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकामा एकरएक जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । गुल्मीमा विभिन्न स्थानका ८१ पुरुष र १८ महिला गरेर एक सय ८१ जना क्वारेन्टिनमा रहेका छन् । छिमेकी जिल्लासहित गुल्मीमा पुन कोरोना संक्रमणको सुरु भएपछि एक हप्ता निषेधाज्ञा गरिएको थियो ।
निषेधाज्ञाको मोडालिटी अहिले परिवर्तन गरिएको छ । नाका प्रवेशमा कडाई गर्ने र पिसिआर रिर्पोटको आधारमा जिल्ला प्रवेश गर्न दिने जिल्ला संकट व्यवस्थापन केन्द्रको भदौ १३ गतेको निर्णयमा उल्लेख गरिएको छ ।
रुरु क्षेत्र गाउँपालिकाको रिडी, रेसुंगा नगरपालिकाको नेटा, मुसिकोट नगरपालिकाको वामी, मदाने गाउँपालिकाको सौतामारे र कालिगण्डकीको पुर्तिघाट र हर्मिचौर नाका व्यावस्थापनमा कडाई गर्ने निर्णय बैठकले गरेको छ ।