गृहपृष्ठ खबर विश्वबाट नै कोरोना महामारीको अन्त्यको कामना गर्दै लुम्बिनीमा सामूहिक पूजापाठ

विश्वबाट नै कोरोना महामारीको अन्त्यको कामना गर्दै लुम्बिनीमा सामूहिक पूजापाठ

प्रकाशित मिति:

रुपन्देही : सिद्धार्थ गौतम बुद्धको जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिरमा बुुधबार सामूहिक पूजापाठ गरिएको छ।
कोरोना को महामारीका कारण लामो समयदेखि बन्द रहेको मन्दिरमा आज बुधबार पूर्णिमाको दिन पारेर सामाजिक दूरी कायम गरी भिक्षुहरुले पूजापाठ गरेको लुम्बिनी विकास कोषले जनाएको छ।

मायादेवीमा अब दैनिक बिहान साँझ पूजापाठ हुने लुम्बिनी विकास कोषका कामु सदस्य सचिव ज्ञानिन राईले जानकारी दिए। ‘सरकारले सर्वसाधारणका लागि धार्मिक स्थल खुल्ला गर्ने निर्णय नगर्दासम्म मायादेवी मन्दिर सर्वसाधारणका लागि खुल्ला गर्न सकिदैन तर सुरक्षा सर्तकता अपनाएर नियमित पूजापाठ शुरु गरिएको छ’–उनले भने।

मायादेवी मन्दिरमा कोरोना महामारीको अन्त्य, मृतकको चिरशान्तिको कामना तथा बिरामीहरुको शीघ्र स्वास्थ्य लाभ र विश्व शान्तिको कामना गर्दै भिक्षुहरुले सामूहिक पूजापाठ गरेका हुन्।

लुम्बिनीका विभिन्न बिहार तथा गुम्बाका भिक्षु, श्रामणेर, लामा, गुरुआमा तथा स्थानीयको सहभागितामा सामाजिक दूरी कायम गरी पूजापाठ गरिएको लुम्बिनी विकास कोषका आध्यात्मिक सल्लाहकार एवम अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थवीरले जानकारी दिए।

विकास कोषको आयोजना तथा भिक्षु महास्थवीरको निर्देशनमा सामूहिक पूजापाठको आयोजना गरिएको हो। सामूहिक पूजापाठमा थेरवादी बिहारको संयोजन भिक्षु वजिर तथा लामा गुम्बाका तर्फबाट सिंगापुर गुम्बाका प्रमुख टाँसी लामाले संयोजन गरेका थिए। अबदेखि मायादेवीमा हुने दैनिक पूजापाठका लागि थेरवादी र महायानी गुम्बालाई जिम्मेवारी दिइएको छ।

यसअघि कोभिड–१९ को प्रभावका कारण लामो समयसम्म बन्द रहेको मायादेवी मन्दिर खुल्ला गर्न विभिन्न संघ संस्थाहरुल कोषको ध्यानाकर्षण गराएका थिए।

मन्दिर यथाशिघ्र खुल्ला गर्न माग गर्दै लुम्बिनीका करिब एक दर्जन उद्योग, पर्यटन तथा समाजिक क्षेत्रमा क्रियाशील संस्थाका अध्यक्ष तथा प्रतिनिधिले विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयमार्फत कोषका अध्यक्ष संंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र समेत बुझाएका थिए।

पर्यटन व्यवसायी हेमबहादुर विष्टले मायादेवी विश्वका बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले यहाँ नियमित पाठ पूजाको कामलाई निरन्तरता दिनुपर्ने बताए।

 

सम्बन्धित् समाचार