रुपन्देही : रुपन्देहीमा आज आइतबार ३२ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। आज थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २९ पुगेको छ। विभिन्न प्रयोगशालाबाट आएका रिर्पोटअनुसार आइतबार दिउसो साढे ४ बजेसम्म रुपन्देहीका ४ पालिका क्षेत्रका व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा रुपन्देहीका १३ महिला र १९ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए। उनका अनुसार अधिकांश शहरी र बाक्लो बस्ती भएको क्षेत्रमा संक्रमण समुदायस्तरमा फैलिसकेको छ।
पछिल्लो तथ्यांकअनुसार सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा ९ महिला र १४ पुरुष गरी २३ जना संक्रमित थपिएका छन्। त्यस्तै रोहिणी गाउँपालिकामा १, तिलोत्तमा र सैनामैना नगरपालिकामा ४र४ जनामा संक्रमण पुष्टि भएको छ।
आईतबार थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ८८ पुगेको शाहले जानकारी दिए। कार्यालयले दिएको तथ्यांकअनुसार हाल सम्म १४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ६४५ जना निको भएर फर्किसकेका छन भने ६२९ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।