वैखरी अनलाईन : कपिलवस्तुका होटल रेष्टुरेन्ट व्यवसायीले व्यवसाय सञ्चालन गर्न दिन माग गर्दै जिल्ला प्रशासन कार्यलय कपिलवस्तुमा ज्ञापन पत्र पेश गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तु र होटल तथा रेष्टुरेन्ट संघ कपिलवस्तुले संयुक्त रुपमा प्रमुख जिल्ला अघिकारी दीर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । असोज १ गतेबाट घरेलु तथा लघु उद्यमी, साना व्यवसायी, होटल तथा रेष्टुरेन्टहरु सावधानी एवम् स्वास्थ्य मापदण्ड अपनाई व्यवसाय संचालन गर्न दिनुपर्ने व्यसायीको माग छ ।
जिल्लामा विभिन्न पर्यटन क्षेत्रमा गरिएको करोडौंको लगानी र हजारौ व्यवसायी तथा कर्मचारी प्रत्यक्ष रुपमा मारमा परेको उनीहरुले बताएका छन् । करिव ६ महिनादेखि पूर्ण वेरोजगार बन्दै गएकाले अब विल्पसहितको व्यवसाय संचालन गर्न नदिने हो भने आगामी दिनमा कोरोनाको महामारीले भन्दा बैंक, साहुका ऋण, व्याज, किस्ता लगायत विभिन्न खर्चको अभावमा अवस्था भयावह हुने व्यवसायीले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।
त्यस्तै व्यवसायीले वाणगंगा नगरपालिकाको कार्यलयमा समेत ज्ञापन पत्र पेश गरेका छन् । जिल्ला प्रशासन कार्यलय कपिलवस्तु र वाणगंगा नगरपालिकामा विहिबार ज्ञापन पत्र दिएको र शुक्रबार जिल्लाका सबै पालिकाहरुमा ज्ञापन पत्र दिने कार्यक्रम रहेको व्यवसायीले बताएका छन् ।
होटल खोल्नेबारे निर्णय भएको छैन – प्रमुख जिल्ला अधिकारी
होटल व्यवसायीले होटल सञ्चालन गर्ने बताएपनि स्थानीय प्रशासनले भने यसबारे कुनै निर्णय नभएको जनाएको छ। कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले यही भदौ ३१ गतेसम्म कपिलवस्तमा शर्तसहितको निषेधाज्ञा जारी रहेकोले अहिले होटल व्यवसाय सञ्चालन गर्नेबारे कुनै निर्णय नभएको बताए।