गृहपृष्ठ खबर आईपीएल : विराट कोहलीको बैंगलोरमाथि पञ्जाबको शानदार जित

आईपीएल : विराट कोहलीको बैंगलोरमाथि पञ्जाबको शानदार जित

प्रकाशित मिति:

दुबई : जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार रातिको खेलमा किङ्स ११ पञ्जाबले विराट कोहलीको टिम रोयल च्यालेन्जर्स बैंगलोरमाथि शानदार जित निकालेको छ। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा कप्तान केएल राहुलको विष्फोटक शतक मद्दतमा पञ्जाबले बैंगलोरलाई ९७ रनले पराजित गरेको हो।

 

 

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०६ रनको उच्च स्कोर बनाएको थियो। उच्च स्कोर बनाउन कप्तान राहुल एक्लैले ६९ बलको सामना गर्दैै १३२ रन जोडेका थिए। उनी नटआउट रहे।

२०७ रनको लक्ष्य पछ्याएको बैंगलोर १७ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन मात्र बनाउन सक्यो। बैंगलोरका कुनै पनि ब्याट्समेनले राम्रो स्कोर बनाउन सकेनन्। वासिङटोन सुन्दरले ३०, एबी डेभिलियर्सले २८ तथा ओपनर आरोन फिन्चले २० रन जोडे। त्यस्तै शिवम दुबेले १२ रन जोड्नबाहेक अन्य ब्याट्समेनले दोहोरो अंकको योगफल तयार पार्न सकेनन्। कप्तान विराट कोहली १ रनमै पेभिलियन फर्किए।

बैंगलोरमा सस्तैमा रोक्न पञ्जाबका मुरुगन आश्विन र रवि बिश्नोइले घातक बलिङ गर्दै समान ३/३ विकेट लिए। त्यस्तै शेल्डोन कोट्रेलले बैंगलोरका २ ब्याट्समेनलाई आफ्नो शिकार बनाए।

यसअघि ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान तथा ओपनर केएल राहुलले १३२ रन जोडे। त्यस्तै अर्का ओपनर मायांक अग्रवालले २६ रनको योगदान गरे भने निकोलस पुरनले १७ रन बनाए।

बैंगलोरका लागि शिवम दुबेले २ विकेट हात पारे भने युजबेन्द्र चाहलले १ विकेट लिए।

आजको खेल नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध दिल्ली क्याटिल्स र चेन्नई सुपर किङ्सबीच हुनेछ। खेल साँझ ७ : ४५ बजे सुरु हुने तालिका रहेको छ।

यसअघिको पहिलो खेलमा दिल्लीले पञ्जाबलाई सुपर ओभरमा पराजित गरेको थियो।

सम्बन्धित् समाचार