गृहपृष्ठ खबर प्रदेश ५ ले दिने सक्रिय कोरोना संक्रमितको तथ्यांकमा नै गोलमाल रहेको खुलासा

प्रदेश ५ ले दिने सक्रिय कोरोना संक्रमितको तथ्यांकमा नै गोलमाल रहेको खुलासा

प्रकाशित मिति:

बुटवल : प्रदेश ५ सामाजिक विकास मन्त्रालयले प्रत्येक दिन कोभिड १९ को ब्रिफिङ गर्छ। सामाजिक विकास मन्त्रालयले ५ बजे प्रत्यक्ष प्रसारण मार्फत कोरोना संक्रमणको अपडेट प्रसारण गर्दै आएको छ। मन्त्रालय मातहतकै स्वास्थ्य निर्देशनालयले प्रत्येक दिन त्यही तथ्यांक वेभसाइटमा राख्छ। तर, त्यो तथ्यांक वास्तविक नरहेको पाइएको छ।

दिनदिनै अपडेट गर्ने तथ्यांक जिल्लाको तथ्यांकसँग मिल्दैन। जिल्लाका स्वास्थ्य कार्यालयले राख्ने गरेको तथ्यांकसँग मेल नखाएपछि प्रदेश सरकारले तयार गर्ने तथ्यांक अलमल पारेको छ। सक्रिय संक्रमितको संख्यामा निर्देशनालयले दिएको विवरण र जिल्लाहरुले दिएको तथ्यांकमा ठूलो अन्तर देखिएको छ। जिल्लाबाट आउने तथ्यांकलाई दैनिक अपडेट नगरेर यी कार्यालयले पूरानै तथ्यांक साइटमा अपलोड गरिरहेका छन्।

प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले वेभसाइटमा राखेको असोज ११ गतेको विवरणअनुसार अर्घाखाँची जिल्लामा ४५ जना सक्रिय संक्रमित रहेका छन्। निर्देशनालय भन्छ–जिल्लाका सबै संक्रमितहरु होम आइसोलेसनमा छन्। तर स्वास्थ्य कार्यालय अर्घाखाँचीले ३० जना सक्रिय संक्रमित रहेको र त्यसमध्ये ४ जना मात्र होम आइसोलेसनमा रहेको जनाएको छ।

बाँकी २६ जना आइसोलेसन सेन्टरमा रहेको कार्यालयका सूचना अधिकारी विजय बिकले बताए। ‘भूमिकास्थानमा ७ जना, शीतगंगामा ८ जना र सन्धिखर्कमा ११ जना हुनुहुन्छ, उहाँहरु सबै नगरपालिकाकै आइसोलेसन सेन्टरमा हुनुहुन्छ’–आइतबारको अवस्था सुनाउँदै उनले भने–‘मालारानी गाउँपालिकामा ४ जना मात्र होम आइसोलेसनमा हुनुहुन्छ।’

अर्घाखाँचीमा मात्रै हैन, नवलपरासी पश्चिमको सक्रिय संक्रमितको तथ्यांक पनि स्वास्थ्य निर्देशनालय र जिल्लाले दिएको विवरणमा ठूलो अन्तर देखिएको छ। निर्देशनालयका अनुसार नवलपरासी पश्चिममा २८९ जना होम आइसोलेसनमा र ४ जना आइसोलेसन सेन्टरमा छन्।

तर स्वास्थ्य कार्यालय परासीले भने २ सय ५ जना होम आइसोलेसनमा र २२ जना आइसोलेसन सेन्टरमा छन्। निर्देशनालयले पूरानो विवरण दिएको हुनसक्ने स्वास्थ्य कार्यालय परासीका तथ्यांक अधिकृत बज्रंगीप्रसाद चौधरीले बताए।

स्वास्थ्य निर्देशनालयको विवरण अनुसार गुल्मीमा आइसोलेसन सेन्टरमा ६१ र होम आइसोलेसनमा १२ जना छन्। स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा।भवानी शर्माले आइतबार आइसोलेसन सेन्टरमा रहनेको संख्या २२ जना मात्र रहेको बताए।

पूर्वी रुकुममा ३५ जना होम आइसोलेसनमा र १४ जना आइसोलेसन सेन्टरमा रहेको स्वास्थ्य निर्देशनालयले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

तर स्वास्थ्य कार्यालय रुकुमका सूचना अधिकारी निमप्रसाद गिरीले जिल्लामा ३२ जना मात्र सक्रिय संक्रमित रहेको र उनीहरु सबै आइसोलेसन सेन्टरमा रहेको बताए। जिल्लाको यो तथ्यांक एकसाता अघिको हुनसक्ने उनले बताए।

‘३५ जना होम आइसोलेशनमा हुनुहु्न्थ्यो, आइसोलेसन सेन्टर तयार भइसकेको थिएन, होम आइसोलेसनमा नबस्ने भनेर आइसोलेसन सेन्टर तयार गरेर उहाँलाई ल्याएको हो’–गिरीले भने–‘एक हप्तादेखि सबै आइसोलेसन सेन्टरमा हुनुहु्न्छ, त्यसमध्ये केही निको भएर गइसक्नुभएको छ।’

निर्देशनालयको विवरण र सम्बन्धित स्वास्थ्य कार्यालयले दिएको संक्रिय संक्रमितको विवरणमा अरु जिल्लामा पनि यस्तै फरक देखिएको छ। यसबाट स्वास्थ्य निर्देशनालय र जिल्लाका स्वास्थ्य कार्यालयहरुको समन्वय प्रभावकारी देखिदैन।

प्रदेश ५ स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृत नेत्रलाल अर्यालले जिल्लाले भने अनुसार नै कोभिड १९ को विवरण सार्वजनिक गरेको जानकारी दिए। ‘जिल्लाबाटै उपलब्ध गराउनुभएको विवरण हामीले दिने गरेका छौं, केही तल माथि परेको भए सच्याउँछौं’–उनले भने।

 

सम्बन्धित् समाचार