गृहपृष्ठ खबर बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

बाँकेमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति:

नेपालगन्ज : बाँकेमा कोरोना भाइरस सङ्क्रमणका कारण थप दुईजनाको मृत्यु भएको छ। नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममै दुईजना कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का ५२ वर्षीय पुरुषको बिहान १ बजे र सुर्खेतकी ७५ वर्षीया महिलाको बिहान १० बजे उपचारको क्रममा मृत्यु भएको हो। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ। बाहिरबाट उपचार गराउन आउँदा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ।

बाँकेका विभिन्न आइसोलेसन अस्पतालमा उपचाररत लक्षणसहितका १ सय १२ मध्ये २१ सङ्क्रमितको अवस्था गम्भीर रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए। उनका अनुसार,भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आईसोलेसन वार्डमा रहेका बिरामी मध्ये २१ जनाको अवस्था गम्भीर रहेको छ।

भेरी अस्पताल नेपालगञ्ज र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईवटा कोभिड विशेष वार्ड सञ्चालनमा छन्। यी दुई वार्डमा कोरोनाको लक्षण देखिएका विरामीलाई मात्र राखिएको छ। ८ आईसीयूसहित ७२ वेड क्षमता रहेको भेरीको कोभिड आइसोलेसन वार्डमा अहिले ६० विरामी उपचाररत रहेका छन्। तीमध्ये १८ जनाको अवस्था गम्भीर छ। ३७ जनाको मध्यम छ भने ५ जनाको अवस्था सामान्य रहेको श्रेष्ठले बताए।

सय वेड क्षमताको शिक्षण अस्पताल कोहलपुरमा ५२ जना बिरामी उपचाररत् छन्। तीमध्ये ३ जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था मध्य र ४४ जनाको अवस्था सामान्य रहेको छ।

 

सम्बन्धित् समाचार