गृहपृष्ठ खबर दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने निर्णय

दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने निर्णय

प्रकाशित मिति:

बुटवल : प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारूढ दल नेपाल कम्युनि पार्टी नेकपाका दुबै अध्यक्षको सहमति पछि प्रदेश सरकारले यस्तो निर्णय गरेको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्ले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको एक मन्त्रीले बताए ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गरेको उक्त निर्णयलाई भने सार्वजनिक गरिएको छैन । राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामाकरण र स्थायी राजधानी तोकिन सकेको थिएन । रुपन्देही, कपिलवस्तु वा दाङ कहाँ राजधानी राख्ने भन्नेमा प्रदेश ५ को प्रदेशसभा मतभेद थियो । प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए ।

नेकपा संसदीय दल प्रदेश ५ का सचिव भोजप्रसाद श्रेष्ठले राजधानी र नामाकरणसम्बन्धी छलफल संसदमा सुरू भएको बताए ।
शीर्ष तहमा निर्णय भइसकेकाले प्रदेश संसदीय दलले पनि प्रस्ताव पारित गर्न लागेको श्रेष्ठले बताए । शुक्रबारको प्रदेश सभामा नाम र राजधानीबारे प्रस्ताव पेस भइसकेको छ ।

राजधानी र नामांकरणका लागि दुई तिहाई मत चाहिन्छ । प्रदेश सभामा नेकपाको दुईतिहाई मत रहेको र केन्द्रबाटै ह्विप जारी भएकोले राजधानीको विषयमा मत पूरा हुने देखिएको छ। यसअघि राजधानीका विषयमा सांसदहरू विभाजित थिए ।
नेकपा संसदीय दलले शनिबार बिहान ८ बजे बैठक बसेर राजधानी दाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित गर्नेछ । रासस

 

सम्बन्धित् समाचार