गृहपृष्ठ खबर रुपन्देहीमा स्कुटर जलाइएकी कर्मचारी भन्छिन् – ‘पर्स र छोराको लुगा निकाल्छु भन्दा पनि दिएनन्’

रुपन्देहीमा स्कुटर जलाइएकी कर्मचारी भन्छिन् – ‘पर्स र छोराको लुगा निकाल्छु भन्दा पनि दिएनन्’

प्रकाशित मिति:

तिलोत्तमा : रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी कर्मचारी शारदा भट्टराई शुक्रबार नयाँ पाठ्युपुस्तक समायोजनको काममा बुटवल आएकी थिइन् । तर, शिक्षा शाखाकी अधिकृत भट्टराई आफ्नो स्कुटरमा घर फर्किन पाइनन् । प्रदेश ५ को राजधानी फेर्ने निर्णयको विरोधमा भएको आन्दोलनको आगोले उनी चढेको स्कुटरलाई भष्म पारिदियो ।

उनलाई जति दुस्ख स्कुटर जलाइएकोमा लागेको छ, त्योभन्दा बढी दुस्ख डिक्कीमा रहेको मोबाइल, पर्स, कागजात र छोराका लागु निकाल्न नपाएकोमा छ ।

नगरपालिकाको काम सकेर घर जानलाई ननिस्किन्जेल उनलाई सडकमा प्रदेश राजधानी प्रस्तावविरुद्ध प्रदर्शन सुरु भएको थाहै थिएन । ‘म आफ्नै काममा थिएँ, आन्दोलनबारे थाहै थिएन,’ शनिबार दिउसो उनले भनिनन् । साँझ पौने ६ काम सकेर घर फर्किने क्रममा बल्ल थाहा पाइन् ।

ुमूल सडकमा आन्दोलन होला भनेर भित्री सडकबाट तिलोत्तमा फर्किर्दै थिएँ । बुटवल–११, देवीनगर हुँदै गइरहेका बेला होराइजन चोकमा भीड थियो । मैले स्कुटर रोके‌ं, त्यहाँ टायर बालेका थिए । आन्दोलन होला भनेर टाढै रोकिएँ । टायर बालेको स्थानबाट ४र५ जना आएर मलाई स्कुटरबाट झर्न लगाए,’ उनले भनिन् ।

उनी सेतो नम्बर प्लेटको लु १ ब २४७० नम्बरको नगरपालिकाको स्कुटरमा थिइन् । ‘मैले म नगरपालिकाको कर्मचारी हुँ । यो स्कुटर पनि नगरपालिकाको हो भनेर भने‌ं,’उनले भनिन्, ‘म स्कुटरबाट झर्नै मानिनँ ।’

तर आन्दोलनकारीले उनको कुरा सुनेनन् । ‘छिटो झरेर स्कुटर दिनुस्, नत्र तपाईंलाई खतरा छ भने,’ उनले भनिन, ‘चिनेर छोडिदिन्छन् कि भनेर मास्कसमेत खोलें ।’

अन्त्यमा १५र२० जना जम्मा भएर हुटिङ गरेपछि एक्लै परेको उनले बताइन् । त्यसपछि डिक्कीमा रहेको मोबाइल, व्यक्तिगत पर्स, छोराको लुगा र कार्यालयका कागजपत्र निकाल्छु भनेर आग्रह गरिन् । रोईकराई हात जोड्दा समेत स्कुटर लगेर दन्किरहेको आगोमा हालिदिएको उनले बताइन् । आत्तिएर त्यहाँ उभिएका धेरैजनासँग मोबाइल माग्दा नपाएको भट्टराईले गुनासो गरिन् ।

‘स्कुटर जलेर क्षति भइसकेको र सबैले आफूलाई हेर्दै खिल्ली उडाएजस्तो मानेर एकदम रोएँ,’ उनले भनिन्, ‘बल्लबल्ल मोबाईल पाएर शाखा प्रमुख सरलाई फोन गरी घटनाबारे बताएँ ।’ उनले फरक-फरक मोबाइल मागी शाखा प्रमुख र नगरका प्रवक्तालाई फोन गरिन् ।

घटनाबारे थाहा पाएलगत्तै तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री र अन्य कर्मचारी घटनास्थल पुगेका थिए । स्कुटर आगोमा छोडिदिएर आन्दोलनकारी त्यहाँबाट अन्यत्रै गइसकेका थिए ।

घटनास्थलमा देवीनगर प्रहरी चौकीको टोली पुग्यो । ‘स्कुटर क्षति भइसके पनि आगो निभाई स्कुटर ल्याइएको हो,’ इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतित सिंह राठौरले भने, ‘स्कुटरको पाटपुर्जा सबै खरानी भइसकेको छ ।’ घटनामा संलग्नको खोजी भइरहेको उनले बताए । शुक्रबार प्रदर्शनमा अन्य ५ वटा सरकारी गाडीमा तोडफोड भएको डीएसपी राठौरले बताए ।

 

सम्बन्धित् समाचार