गृहपृष्ठ खबर रविना कन्स्ट्रक्सनले श्रमिकलाई दिएन लाखौं रकम बराबरको ज्याला

रविना कन्स्ट्रक्सनले श्रमिकलाई दिएन लाखौं रकम बराबरको ज्याला

प्रकाशित मिति:

बाग्लुङमा एक स्वास्थ्य चौकीको भवन निर्माण गर्ने ठेकेदारले ५० जनाभन्दा बढी कामदारहरुको लाखौँ रकम बराबरको ज्याला नदिएको तथ्य प्रकाशमा आएको छ । भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरेको एक वर्ष भईसक्दा पनि श्रमिकहरुलाई ज्याला नदिइ ठेकेदार सम्पर्कविहीन भएका हुन् ।

गल्कोट नगरपालिका वडा नम्वर १० स्थित पाण्डवखानी स्वास्थ्य चौकीको भवन गत वर्ष असोज १६ गते निर्माण सम्पन्न भई व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको थियो । २०७३ साल जेठ १२ गते स्वास्थ्य विभागबाट विनियोजत १ करोड ७७ लाख लागतमा उक्त भवन निर्माणको जिम्मा काठमाडौँस्थित रविना कन्स्ट्रक्सन जेभीले पाएको थियो । ठेकेदार कम्पनीले ५२ जना कामदारको १५ लाख ५० हजार रकम दिन बाँकी रहेको पीडित कामदारमध्येका उमेश विकले बताए ।

उनका अनुसार भवन निर्माण कार्यमा मजदुरी गर्ने सबै कामदार पाण्डवखानीका बासिन्दा हुन् । ‘दिनहुँ मजदुरी गरेर जीविका चलाउँदै आएका मजदुरहरु हौं, दशैं आउनै लागेको छ, साथमा पैसा नहुँदा समस्यामा परेका छौं,’ विक भन्छन् । स्थानीय सञ्चारकर्मी सुरेश छन्त्यालकाअनुसार सो भवन निर्माणका क्रममा सुरुमा पनि कामदारलाई पैसा नदिएपछि काम रोकिएको थियो । पछि ठेकेदारहरु आएर ४ लाख ५० हजार रुपैयाँको चेक दिएका थिए । तर उक्त चेकबाट रकम नसाटिएको पीडितको भनाइ छ ।

गल्कोट नगरपालिका वडा नम्वर १० का वडाध्यक्ष तिलक घर्तीकाअनुसार त्यतिबेला भवन निर्माणको काम रोकिएपछि ठेकेदारलाई बोलाएर छलफल गरिएको थियो । ‘त्यसपछि ठेकेदारले कामदारलाई पहिला काम गरेको   साढे चार लाख दिन्छु र अब काम गर्नेहरुको हकमा निर्माण सम्पन्न भईसकेपछि दिन्छु भनेर काम सुचारु गरे,’ वडाध्यक्ष घर्तीले भने, ‘पहिलाका कामदारलाई दिएको साढे चार लाखको चेक पनि साटिएन, पछि काम गर्ने कामदारहरुको ज्याला पनि नदिई मुख्य ठेकेदार सम्पर्कविहीन भएका छन् ।’

मुख्य ठेकेदार सम्पर्कमा नआएपछि आफूहरु कामदारको मेहनत र परिश्रम खेर जान नदिने गरि कानुनी प्रकृया अनुसार अगाडि बढ्ने तयारीमा रहेको उनको भनाइ छ । मल्म निवासी सहायक ठेकेदार बसन्त केसी आफुले त्यस भवन निर्माणको काम पछिमात्रै जिम्मा लिएको र ती कामदारहरुको उक्त रकम दिलाउन आफुले प्रयास गरे पनि ठेकेदारको नियत नै गलत रहेको टिप्पणी गर्दछन् ।

भवन निर्माणको धरौटी रकम फिर्ता आएपछि कामदारको ज्याला बुझाउन आफूले पहल गर्ने उनको भनाइ छ । नभए उक्त ठेकेदार कम्पनीले अन्यत्र काम गरिरहेको स्थानबाट आवश्यक सामान उठाएर भए पनि कामदारको ज्याला चुक्ता गराउन आफूले पहल गर्ने उनले बताए । निर्माण कम्पनीका मुख्य ब्यक्ति रविनकुमार जोशीलाई रातोपाटीकर्मीले पटक पटक फोन गर्दा उनको फोन उठेन ।

भवन निर्माण जग्गा खरिद समितिका अध्यक्ष धनबहादुर सुनारले ठेकेदारबाट कामदारको ज्याला रकम दिलाउन पटक पटक प्रयास गरे पनि हालसम्म दिलाउन नसकिएको बताए । बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले आफुलाई ठेकेदारले श्रमिकको रकम भुक्तानी नगरेको जानकारी नभएको बताए । यदि त्यस्तो छ भने पीडित पक्षबाट प्रशासनमा उजुरी आए आवश्यक कारवाहीको पहल गर्ने उनको भनाइ छ ।

सम्बन्धित् समाचार