गुल्मी : गुल्मीको इश्मा गाउँपालिका-४, दोहोलीकी सीता अर्याललाई पहिले घरपरिवारको कमजोर आर्थिक अवस्थाले निकै सताउने गर्थ्यो। घरमा बालबच्चालाई पढाउन र सामान्य खर्च धान्न पनि धौ-धौ हुन्थ्यो। आफूलाई चुरापोते केही किन्न परे पनि श्रीमानको मुख ताक्नुपर्थ्यो।
तर अहिले उनले आफ्नै सक्रियतामा घरमा आठवटा बाख्रा पालेकी छिन्। बाख्रापालन थालेपछि आर्थिक समस्या गर्दै गएको छ। उनी आवश्यक पर्दा गाउँमा सरसापट चलाउन समेत सक्ने भएकी छिन्।
बाख्रापालनबाटै भएको आम्दानीबाट उनले एक छोरा र दुई छोरीको शिक्षादिक्षाका लागि खर्च धानिरहेकी छिन्। उनकी एउटी छोरीले १२ पास गरेकी छिन् भने अर्की छोरी १० कक्षामा अध्ययनरत छिन्। छोरा ११ कक्षामा पढ्दैछन्। अहिले केही राम्रो लगाउन परे र मीठो मसिनो खान परे श्रीमानको मुख ताक्न नपर्ने गरी बाख्रा पालनबाट आफू आत्मनिर्भर भएको उनी बताउँछिन्।
सोही वडाकी २७ वर्षीया हुमकला जिसीको आर्थिक अवस्था पहिले नाजुक नै थियो। आर्थिक विपन्नताबाट कसरी माथी उठ्ने भन्ने बारेमा केही थाहा थिएन। बाख्रापालन थालेपछि अहिले उनको आर्थिक स्थिति सुध्रिएको छ। उनी बाख्रापालनका लागि घाँसको नर्सरी र दानापानीको सन्तुलन मिलाउन अब्बल नै भइसकेकी छिन्।
इश्माका सीता र हुमकलाजस्तै दर्जनौं महिलाहरूलाई बाख्रापालनले आर्थिक सुधारसँगै गाउँ समाजमा आफ्ना कुरा राख्नसक्ने पनि बनाइदिएको छ। अहिले उनीहरूलाई सामान्य खर्चका लागि कसैको मुख ताक्नुपर्ने अवस्था छैन।
बाख्रापालनका लागि किसानहरूलाई सघाउँदै आएको हेफर इन्टरनेशनल नाम संस्थाले सहयोग गरेपछि यहाँका महिलाहरु आात् निर्भर बन्न थालेका हुन्। स्थानीय जनप्रतिनिधिहरूका अनुसार इश्माका महिलाहरू यतिखेर व्यवसायिक ढंगले नै बाख्रापालनमा लागिरहेका छन्। बाख्रापालनका लागि गाउँपालिकाले ७५ प्रतिशत र हेफर परियोजनाले २५ प्रतिशत लगानी गरिदिएको छ। स्थानीय नवप्रभात युवा संघले बाख्रापालन परियोजनामा सहकार्य गरेपछि झनै सहज भएको छ।
तत्कालका लागि मासुमा आत्मनिर्भर बन्ने र पछि गाउँपालिकाबाट खसीबोका निर्यात गर्नेगरी बाख्रापालनमा सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बिष्टले बताए। गाउँपालिकाले बाख्रापालनका लागि झण्डै तीन करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिए।