गृहपृष्ठ खबर कतारबाट “अनेसास शिखर पुरस्कार”को विधिवत घोषणा

कतारबाट “अनेसास शिखर पुरस्कार”को विधिवत घोषणा

प्रकाशित मिति:

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरले यहि १६ अक्टोबरका दिन एक पत्रकार सम्मेलन गरी साहित्यकार स्व. शिखर वैद्यको सम्मानमा “अनेसास शिखर पुरस्कार “को स्थापना भएको विधिवत घोषणा गरेको छ ।
अनेसास कतार च्याप्टरको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने साहित्यकार स्व. शिखर वैद्यको ९ मार्च २०१४ मा देहावसान भएको थियो। उहाँले प्रवासमा नेपाली भाषा, साहित्य, कला, संस्कृति , गीतसंगीत र समाज सेवामा पुर्‍याउनु भएको योगदान र सत्कर्मलाई सधैं सम्झिरहन तथा उहाँलाई सधैं अजर अमर बनाईराख्न यो पुरस्कारको स्थापना गरिएको हो ।

नेपाली भाषा ,साहित्य, कला, गीतसंगीत र समाजसेवामा लाग्ने हरेक नेपालीलाई हौसला प्रदान गर्न , मध्यपूर्व श्रमिकहरुको मात्र देश हो भनी राज्यले हेर्ने दृष्टिकोणलाई सकारात्मक बनाउन तथा प्रवासमा रहेर पनि नेपालीहरुले गरेका सकारात्मक कार्यहरु र नेपालीको पहिचानलाई सगौरव प्रस्तुत गर्ने उदेश्यले स्थापित यो पुरस्कार हरेक बर्ष स्व.शिखर वैद्यको जन्म जयन्तीको दिन प्रदान गरिने छ भने यो पुरस्कारको राशी नेपाली तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ साथमा ताम्रपत्र रहेको छ । उक्त राशी समय अनुरुप बढाउँदै लैजान सकिने छ । पुरस्कार प्राप्तिका लागि कृति प्रकाशन अनिवार्य नभई प्रवासमा रहेर वा बसेर नेपाल फर्की सकेका तर प्रवासकै साहित्य लेखेका या लेखिरहेका नेपाली भाषा ,साहित्य ,कला ,संस्कृति र गीतसंगीतमा महत्वपूर्ण योगदान पुर्‍याउनु हुने नेपाली जोसुकै व्यक्ति पनि पुरस्कारका लागि निर्णायकको छनौट दायरा भित्र पर्न सक्नेछन् ।
पुरस्कार राशीको स्रोत तत्काल केही नरहे पनि इच्छुक संघ संस्थाहरुबाट प्राप्त चन्दा , दान तथा उपहार , च्यारीटी , गोष्ठी आदि नै प्रमुख स्रोत हुन् भने भविष्यमा यी सबै स्रोत बाट संकलित नगद या जिन्सीलाई अक्षयकोष खडा गरि सो बाट प्राप्त व्याजबाट पुरस्कार वितरण र समिति सञ्चालन गरिने छ ।

अनेसास शिखर पुरस्कार सञ्चालन गर्नको लागि समितिको आवश्यक पर्ने हुनाले सात सदस्यीय पुरस्कार समिती, तीन सदस्यीय सल्लाहकार समिती र तीन सदस्यीय बोर्ड अफ ट्रष्टीको गठन गरिएको छ । जसमा पुरस्कार समिति संयोजकमा प्रेम प्रसाद भट्टराई ( निवर्तमान अनेसास कतार च्याप्टर अध्यक्ष ), सदस्य सचिवमा लेख कार्की ( वर्तमान अनेसास कतार च्याप्टर द्वितिय उपाध्यक्ष ), कोषाध्यक्षमा माया के. सि .( वर्तमान अनेसास कतार च्याटर सचीव ) र सदस्यहरुमा मणि पौडेल ( वर्तमान अनेसास कतार च्याप्टर प्रथम उपाध्यक्ष ) , श्यामराज रानाभाट ( अनेसास कतार च्याप्टर पूर्वाध्यक्ष ) , दिलिप पराजुली ( नवोदित साहित्यिक वाचनालय कतार निवर्तमान अध्यक्ष ) र चक्र कार्की ( नवोदित साहित्यिक वाचनालय कतार वर्तमान अध्यक्ष ) रहेका छन । त्यस्तै सल्लाहकारमा अनेसास कतार च्याप्टर पूर्व अध्यक्ष एवम् साहित्यकार दीपक भेटवाल , पत्रकार महासंघ कतारका वर्तमान अध्यक्ष करीम वक्स मिया र सामाजिक अभियन्ता विल गुरुङ रहेका छन् । त्यस्तै तीन सदस्यीय बोर्ड अफ ट्रष्टिमा स्वर्गीय शिखर बैद्यको परिवारको तर्फबाट उहाँकी धर्मपत्नी श्रीमती सविता वैद्य , साहित्यकार तथा अनेसास कतार च्याप्टरका पूर्व अध्यक्ष तीर्थ संगम राई र अनेसास कतार च्याप्टरका वर्तमान अध्यक्ष सिताराम थापा रहेका छन् ।

स्मरण रहोस – अनेसास केन्द्रका आजीवन सदस्य , अनेसास कतार च्याप्टरका संस्थापक संयोजक , गैर आवासिय संघ राष्ट्रिय समन्वय परिषद कतारका सदस्य रहनु भएका स्व. शिखर वैद्यको जन्म वि.सं. २०१९ मंसिर ११ गते कास्की पोखरामा भएको थियो भने रोजगारीको सिलसिलामा सन १९९८ मा कतार प्रवेश गर्नु भएको र डार्विस ट्राभल कम्पनीमा कार्यरत हुनुहुन्थ्यो ।

सम्बन्धित् समाचार