कपिलवस्तु : कपिलवस्तु बालगृहमा रहेका बालबालिकाले सामूहिक रुपमा बडादसैं मनाएका छन्। नेपाल बाल संगठन कपिलवस्तुका निवर्तमान अध्यक्ष राजुप्रसाद अर्याल, बालगृह प्रमुख रामप्रसाद अर्याल र अधिकारकर्मी रवि ठाकुरले बालबालिकालाई सामूहिक रुपमा टीका लगाएर दसैं मनाइदिएका हुन्।
बालगृहको संरक्षण रहदा र यसरी दसैं मनाउन पाउँदा आफूहरु निकै खुसी रहेको बालगृहका बालक सागर परियारले बताए। ‘१० वर्षदेखि म बालगृहको संरक्षणमा बसेको छु’, परियारले भने, ‘मेरो लागि घर परिवार र आमा बाबु सबै यही बालगृह हो।’
अभिभावक गुमाएका बालगृहका यी बालबालिकालाई विभिन्न दातासँग सहयोग लिएर बालगृहले नयाँ लुगासहित मिठो परिकार खुवाएर दसैं पर्व मनाउने अवसर जुटाइ दिएको हो।
बालबालिकालाई परिवारबिहीन अवस्थामा छौं भन्ने महसुस हुन नदिन सानो प्रयास गरिरहेको बालगृहका प्रमुख रामप्रसाद अर्यालले बताए। बाल गृहले अहिले ३० जना बालकलाई संरक्षण दिएको छ।
बालबालिकासँग चाडपर्व मनाउँदा खुसी मिल्ने गरेको बाल संगठनका निवर्तमान अध्यक्ष राजुप्रसाद अर्यालले बताए।