रोल्पा : मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको हत्या गरेको अभियोगमा रोल्पाको रुण्टिगढिमा चार जना किशोर पक्राउ परेका छन् । रुन्टीगढी गाउँपालीका वडा नं. २ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको हत्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै ती किशोरहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका किशोरहरु दुई जना १६ वर्ष, एक जना १७ वर्ष र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । कात्तिक ११ गते ती किशोरहरुले पुनको होटलमा मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेको बिल २ हजार ५ सय भएको सुनाउने बित्तिकै वृद्धमाथि कुटपिट गरेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।
वृद्धलाई गम्भीर घाइते बनाएर फरार भएका उनीहरुलाई घरगोठमा फेला पारिएको प्रहरी नायब उपरीक्षक नरेश सुवेदीले बताए । थप अनुसन्धानका लागि कात्तिक १६ गते अदालतबाट म्याद थप गरिएको उनले बताए ।प’क्राउ परेका किशोरहरुले विद्यालय छाडिसकेका र विगतमा अशान्तिपूर्ण गतिविधिमा संलग्न हुदै आएको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यान सम्बन्धी कसुर अनुसार मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
डीएसपी सुवेदीका अनुसार मुलुकी अपराध संहिता २०७४ अनुसार बालकलाई उमेरगत भिन्नताका आधारमा सजाय गर्न सकिने प्रावधान उल्लेख गरिएको छ । हत्या अभियोग प्रमाणित भएको खण्डमा १० देखि १४ वर्षकालाई ६ महिनादेखि १ वर्षसम्म कैद हुन सक्ने कानुनी व्यवस्था छ । यस्तै, १४ देखि १६ वर्षकालाई बालिग सजायको आधा सजाय हुने र १६ देखि १८ वर्षसम्मकालाई दुई तिहाइ सजाय हुन सक्ने कानुनी प्रावधान रहेको छ ।