दाङ : दाङकी एक २० वर्षीया सुत्केरीको कोरोना संक्रणका कारण मुत्यु भएको छ।
दाङको तुलसीपुर उपमहानगरपालिका-१० निवासी संक्रमित ती महिलाको शिशु जन्मिएपछि कोरोनाले मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।
उनी कात्तिक १६ गते प्रसुति सेवाका लागि कोहलपुर मेडिकल कलेजमा भर्ना भएकी थिइन्।
१७ गते बच्चा जन्माएपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। १८ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो।
त्यसपछि उनलाई कोभिड यूनिटमा भर्ना गरेर उपचार थालिएको थियो।स्वास्थ्यमा निरन्तर समस्या भएकी उनको शुक्रबार दिउँसो मृत्यु भएको हो।
उनको शवको व्यवस्थापन बाँकेमै गर्न लागिएको बाँकेका फोकल पर्सन श्रेष्ठले बताए।
यसअघि गएराति मात्रै दाङ लमही नगरपालिका-१० निवासी ६४ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि उनको १३ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा स्वाब संकलन गरिएकोमा १४ गते रिपोर्ट पोजिटिभ आएको थियो।
उनलाई त्यसैदिन कोरोना विशेष अस्पताल बेलझुण्डीमा भर्ना गरेर उपचार सुरु गरिएको थियो। तर अवस्थामा सुधार नआएपछि १९ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्था थप बिग्रिँदै गएपछि उनको उपचारका क्रममा बिहीबार राति ९ बजे मृत्यु भएको स्वस्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए।