
बुटवल : रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा भर्ना भएका देवदह नगरपालिका वडा नं। ७ का ४७ वर्षीय पुरूषको बिहीबार बिहान मृत्यु भएको हो। उनी गत कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएर २१ गते विशेष अस्पतालमा भर्ना भएका थिए।
एक सातादेखि अस्पतालमा उपचाररत रहे पनि बिहीबार बिहान सवा ९ बजे मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए। लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमका अनुसार मृतक पुरूष कोरोना संक्रमितसँगै एचआइभी पोजेटिभ समेत रहेका थिए।
उनको मृत्यु भएसँगै रुपन्देहीमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ। धागो कारखानास्थित कोरोना विशेष अस्पतालको आइसियूमा अझै १६ जना संक्रमितको उपचार भइरहेको छ।
डा. थापाका अनुसार संक्रमितमध्ये २ जनाको भेन्टिलेटरको सहायता र १४ जनाको अक्सिजनको सहायताले उपचार भइरहेको छ।








