गृहपृष्ठ खबर मोटरसाइकललाई बचाउन खोज्दा यात्रुबहाक बस दुर्घटना : १५ जना घाइते

मोटरसाइकललाई बचाउन खोज्दा यात्रुबहाक बस दुर्घटना : १५ जना घाइते

प्रकाशित मिति:

विराटनगर स् मोरङको रतुवामाई नगरपालिका–३ स्थित चौकीघाटमा मोटरसाइकललाई बचाउन खोज्दा सोमबार दिउँसो यात्रुबहाक बस दुर्घटनामा परेको छ।

दुर्घटनामा १५ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। घाइतेहरु सबै बसका यात्रु हुन्। प्रहरीकाअनुसार बस पूर्वबाट पश्चिमतर्फ आउँदै थियो। चौकीघाटबाट विराटनगरतर्फ आइरहेको को १ ख ३२७२ नम्बरको बस पश्चिमबाट पूर्वतर्फ गइरहेको एउटा मोटरसाइकललाई जोगाउने हुँदा सडकबाट पल्टिएर दुर्घटनामा परेको जानकारी प्रत्यक्षदर्शीले प्रहरीलाई दिएका छन्।

निर्माणाधीन साँघुरो सडकमा यात्रुबहाक बस दुर्घटना हुने गरी तीव्र गतिमा कुदाइएको मोटरसाइकलको भने पहिचान नखुलेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए। उनकाअनुसार दुर्घटनामा परेर बसमा यात्रा गरिरहेका रतुवामाई–३ का ३१ वर्षीय राजेश सिंह गम्भीर घाइते भएका छन्। स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ। सिंहको कम्मर लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ।

दुर्घटनामा परेर रतुवामाई–३ का परमेश्वर पण्डित, अख्नुसिंह गनगाईं, सीतादेवी सिंह, सुस्मिताकुमारी ताजपुरीया, केअनु मिया, सगरुन खातुन, सञ्जय झा, रुपादेवी झा, प्रिन्स झा, जितेन्द्र झा, चौँठी ताजपुरीया, शिव साह घाइते भएका छन्। त्यस्तै धनपालथान गाउँपालिकाका खजना खातुन र लाडली खातुन पनि घाइते भएका छन्। उनीहरुको रंगेली अस्पताल र स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको एसपी खड्काले बताए।

दुर्घटनापछि बसका चालक धनपालथान गाउँपालिका–५ का ५७ वर्षीय हरिनारायण रायलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

 

सम्बन्धित् समाचार