गृहपृष्ठ खबर दाङमा ट्र्याक्टरको ठक्करबाट एउटै मोटरसाइकलका दुई जनाको मृत्यु

दाङमा ट्र्याक्टरको ठक्करबाट एउटै मोटरसाइकलका दुई जनाको मृत्यु

प्रकाशित मिति:

दाङ : दाङमा ट्र्याक्टरको ठक्करबाट एउटै मोटरसाइकलमा रहेका तीन जनामध्ये दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । दुर्घटनामा परेका दंगिशरण गाउँपालिका-३ हेकुलीका २५ वर्षीय विवेक थापा र वडा नं ४ बैबाङका २६ वर्षीय दिनेश खड्काको उपचारका क्रममा कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

त्यही मोटरसाइकलमा रहेका दंगिशरण ३ रातवगाउँका २४ वर्षीय आकाश कँडेल भने घाइते हुनुभएको छ । उहाँको पनि कोहलपुरमा उपचार भइरहेको छ । शुक्रवार राति सवा ८ बजेतिर तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ त ३४४१ नम्बरको ट्र्याक्टरले पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ प १४३४ नम्बरको मोटरसाइकललाई दंगिशरण ५ लौबस्ता भन्ने ठाउँमा ठक्कर दिएको थियो ।

दुर्घटनापछि घाइतेलाई उद्धार गरेर राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि तीनै जनालाई गएराति नै बाँकेमा रहेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार