गृहपृष्ठ खबर कपिलवस्तुमा मापदण्ड विपरीतका क्रसर उद्योग भएनन् बन्द, प्रशासन मौन

कपिलवस्तुमा मापदण्ड विपरीतका क्रसर उद्योग भएनन् बन्द, प्रशासन मौन

प्रकाशित मिति:

कपिलवस्तु : संघीय सरकारले मापदण्ड विपरीत सञ्चालन भएका क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्न दिएको निर्देशनअनुसार कपिलवस्तुमा अनुगमन भएको तीन महिना पुग्न लागेको छ। गत मंसिरमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जिल्लामा सञ्चालन भएका उद्योगको अनुगमन समेत गरेको थियो।

अनुमगनपछि मापदण्ड विपरीत सञ्चालनमा पाइएका उद्योगलाई कारबाही गर्ने प्रतिवद्धता गरेको थियो। तर, जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अझै रिपोर्टसमेत सार्वजनिक गरेको छैन। अधिकांश क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू मापदण्ड विपरीत सञ्चालन भइरहेका छन्। कारबाही गर्ने निकाय नै चुप लागेपछि स्थानीयहरूले आर्थिक चलखेल भएको शंका समेत गरेका छन्।

गत मंसिरको पहिलो साता प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयको टोलीले २९ वटा क्रसर उद्योगको अनुगमन गरेको थियो। अनुगमनपछि उद्योग स्थापनाको समयमा तोकिएको मापदण्ड पूरा भए नभएको जाँच घरेलु तथा साना उद्योग कार्यालयले कागजात जाँच गर्दै आएको थियो। प्रशासनको अनुगमनपछि क्रसर व्यवसायीहरू बन्द हुने भनी त्रसित भएका थिए। एक साताभित्र मापदण्डको विवरण निकाल्ने भनिए पनि तीन महिना पुग्न लाग्दा पनि विवरण सार्वजनिक भएको छैन।

अनुगमनका क्रममा पाँच उद्योग सञ्चालनमा नभएको पाइएको थियो। बाँकी २४ उद्योगमध्ये धेरै जसो मापदण्ड विपरीत रहेका थिए। केही उद्योगले बालुवा प्रशोधनको इजाजत लिई क्रसरको समेत काम गर्दै आएको भेटिएको थियो। जिल्लामा रहेका ठूला मानिँदै आएका क्रसर उद्योग खोलाको छेउमा सञ्चालन भएका छन्। खोला नजिकै भएका कारणले उनीहरूले नदीजन्य पदार्थ चोरी गर्न समेत सजिलो भएको छ। केही उद्योगहरू विद्यालय तथा समुदाय नजिकै सञ्चालन भएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको मापदण्ड–२०७७ अनुसार बस्ती, मुख्य सडक, राजमार्ग, विद्यालय, स्वास्थ्य संस्था, ठूला नदी, पुल, धार्मिक स्थल, सांस्कृतिक, पुरातात्त्विक महत्त्वका स्थान र वन क्षेत्रको ५०० मिटरदेखि दुई किलोमिटरभित्र नदीजन्य पदार्थ उत्खनन र सङ्कलन गर्ने गराउने कुनै पनि कार्य गर्न पाइँदैन। -रासस

सम्बन्धित् समाचार