गृहपृष्ठ खबर भागरथी हत्या प्रकरणः दोषीको नजिक पुगेको प्रहरीको दावी

भागरथी हत्या प्रकरणः दोषीको नजिक पुगेको प्रहरीको दावी

प्रकाशित मिति:

बैतडी : दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कार पछि हत्या भएको १० दिन पुगेको छ । गत माघ २२ गते विभत्स र निर्वस्त्र अवस्थामा लबलेक जंगलमा भेटिएपछि अनुसन्धान लागेको प्ररीले १० दिनसम्म पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।

प्रहरीले अनुसन्धानको दायरा साँघुरिँदै गएको बताउँदै छिट्टै दोषी पत्ता लाग्ने आश्वासन दिएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीले घटनाको बृहत र सूक्ष्म अनुसन्धानपछि आफूहरु दोषीको एकदमै नजिक पुगेको बताउनुभयो ।

घटनास्थलमा भेटिएका प्रमाणहरुका कारण अनुसन्धानमा सहज भएको बताउँदै बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले अनुसन्धान साघुरिँदै गएकाले अपराधी चाँडै नै सार्वजनिक गर्ने बताउनुभयो ।

शनिबार भागरथीको शव परीक्षण सकिए पनि अझै आफन्तले बुझ्न मानेका छैनन् । उनीहरु हत्याराका पत्ता नलाग्दासम्म शव नबुझ्ने अडानमा छन् । अस्पतालमा शव राख्ने मर्चरी नहुँदा भागरथीको शव सुरक्षित राख्न समस्या भएको जिल्ला अस्पताल बैतडीका डाक्टर वसन्तराज जोशीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले पनि परिवारलाई शव बुझ्न आग्रह गर्नुभएको थियो ।

घटनाको अनुसन्धान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमराज सुवेदीसहित प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखु र प्राविधिकहरुले गरिरहेका छन् ।

दोषी पत्ता नलागेको भन्दै जिल्लाभर आन्दोलन जारी रहेको छ । शनिबार स्थानीयले जिल्ला प्रशासन कार्यालय अगाडी घण्ट बजाएर प्रदर्शन गरेका छन् । अपराधीलाई यथासिघ्र पत्ता लगाइ कानुनी कारबाहीको माग गर्दै शान्तिपूर्ण रुपमा आन्दोलनका कार्यक्रम भइरहेका भागरथी भट्टको न्यायका लागी गठित संघर्ष समितिका सदस्य महेश दत्त भट्टले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार