गृहपृष्ठ खबर देशभर ५ सय ५० पत्रकार कोरोना संक्रमित, सातको मृत्यु

देशभर ५ सय ५० पत्रकार कोरोना संक्रमित, सातको मृत्यु

प्रकाशित मिति:

कोरोना भाइरस संक्रमणका कारण नेपालमा सात जना पत्रकारको मृत्यु भएको छ । पत्रकार महासंघका अनुसार हालसम्म ५ सय ५० पत्रकार कोरोनाबाट संक्रमित भएका छन् ।

महासंघका महासचिव रोशन पुरीका अनुसार संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने दुई जना पत्रकारको आईसीयूमा उपचार भइरहेको छ । सञ्चार क्षेत्र पनि कोरोनाको दोस्रो लहरबाट प्रभावित भएको प्रति महासंघ दुःखी र चिन्तित भएको विज्ञप्तिमा उल्लेख छ ।

‘अग्रभागमा रहेर काम गर्ने पत्रकारहरूको यतिखेर स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको छ । यो संवेदनशील घडीमा अनेक कठिनाइका बाबजुद कार्यस्थलमा खटिने पत्रकारहरू अझ बढी गम्भीर र सचेत हुनु जरुरी छ,’ महासचिव पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महासंघ यस्तो विषम परिस्थितिमा आफ्नो पेसागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरू अवलम्बन गर्न सबै पत्रकारमा अपिल गर्दछ ।’

महासंघले गरेको आग्रहअनुसार सबै प्रदेश र शाखाहरूले कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्धार तथा उपचारमा सक्रिय सहभागिता देखाइरहेका छन् । कतिपय शाखामा अक्सिजनसहितको आइसोलेसनको व्यवस्था गरिएको महासचिव पुरीले जानकारी दिए ।

‘यो विषम परिस्थितिमा महासंघले पत्रकारको स्वास्थ्य सुरक्षा तथा पेसागत सुरक्षामा आपत्कालीन टोली नै बनाएर काम गर्न निर्देशन गरेको छ । सोहीअनुसार सहभागिता जनाउन सबै प्रदेश समिति र शाखाहरूसहित पत्रकारहरूलाई महासंघ अनुरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै, महासंघले कोरोना संक्रमणको अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरूका लागि सुलभ पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउन र आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ । कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरूका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित् समाचार