गृहपृष्ठ खबर ओलीलाई सत्ताच्यूत गर्न माधव समूहका सांसद राजीनामा दिने तयारीमा

ओलीलाई सत्ताच्यूत गर्न माधव समूहका सांसद राजीनामा दिने तयारीमा

प्रकाशित मिति:

२७ वैशाखमा प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने निर्णय गरेसँगै एमालेको माधव नेपाल पक्षका सांसद सामूहिक राजीनामा गर्ने छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री ओलीलाई सत्ताच्यूत गर्न नेपाल पक्षले यस्तो निर्णय लिने गरी छलफल अगाडि बढाएको हो । नेपालनिकट स्रोतका अनुसार सांसदबाट राजीनामा गर्ने राजनीतिक निर्णयबारेमा छलफल भइरहेको छ । तर, यसबारेमा टुंगो लागिसकेको छैन ।

नेपाल पक्षका सांसदमध्ये कम्तीमा २० जनाले राजीनामा दिएको अवस्थामा विपक्षी गठबन्धनलाई सरकार बनाउन सहज हुनेछ । त्यो अवस्थामा संसदमा २ सय ५१ जना सांसद हुनेछन् । र, कायम रहेको सांसद संख्याको बहुमतले सरकार बनाउने हुन्छ । त्यसअनुसार १ सय २८ जना भए बहुमत पुग्छ । त्यसका लागि कांग्रेस–माओवादी गठबन्धनसँग रहेको १ सय ९ सिटमा १९ जना सांसद भए पुग्छ ।

जसपाको उपेन्द्र–बाबुराम भट्टराई पक्षका १८ सांसद र जनमोर्चाको १ सांसद जोड्दा बहुमत संख्या पुग्न सक्छ । सरकार बन्ने अवस्था आउँदा उपेन्द्र यादव पक्षका सांसदको संख्या २२ सम्म पुग्न सक्ने विश्लेषण छ ।

२७ वैशाखमा विश्वासको मत लिनु ठीकअघि अर्थात् त्यसै दिन बिहान नेपाल समूहका ३० जना सांसदहरूले राजीनामा दिएको अवस्थामा ओलीलाई थप समस्या पर्नेछ । ३० जनामध्ये ९ जना समानुपातिक सांसद छन् । त्यसैले २७ वैशाखकै बिहान राजीनामा दिएको अवस्थामा ओलीले समानुपातिक सांसदका पूर्ति गर्न सम्भव हुँदैन । त्यसले ओलीलाई झन् समस्या पार्नेछ ।

विपक्षी गठबन्धनको सरकार बन्ने अवस्था आएमा ओली सत्ताबाट त ओर्लिनेछन् नै ओलीको अहम् पनि ओरालो लाग्ने विश्लेषण माधव पक्षका नेताहरूको विश्लेषण छ । ओलीले राजनीतिक जीवनकै हत्या गर्न लागेको भन्दै माधव नेपाल पक्षका नेताहरू ओलीलाई सत्ताबाट ओराल्न जुनसुकै राजनीतिक निर्णय लिन सक्ने बताइरहेका छन् ।

शिलापत्रसँग कुराकानी गर्दै एक स्थायी समिति सदस्यले भने, ‘ओलीले पेलेर भित्तामा पुर्‍याइसकेका छन्, ४०-५० बर्षको राजनीतिक जीवनकै हत्या नै गर्ने अवस्थामा पुगेका कारण जुनसुकै राजनीतिक निर्णय लिन सकिन्छ ।’

सम्बन्धित् समाचार