बुटवल : जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पछिको लागि भन्दै घरमा वा संस्थामा अक्सिजन सिलिण्डर स्टक नराख्न आग्रह गरेको छ। स्टक भए पनि नजिकको सुरक्षा निकायलाई जानकारी गराई दिन अनुरोध गर्दै बिना जानकारी स्टक राखेको पाइए कारवाही गर्ने चेतावनी पनि रुपन्देही प्रशासनले दिएको छ।
जिल्ला प्रशासन कार्यालयले बिहीवार सूचना जारी गर्दै कोभिडका नयाँ भेरियन्टबाट उत्पन्न महामारीको बिषम परिस्थितिका कारण अस्पतालहरुमा बिरामीको चाप बढेको र त्यसको उपचारको लागि आवश्यक पर्ने अक्सिजन ग्यासको अभावमा परिस्थिति दैनिक जटिल बन्दै गएको उल्लेख गरेको छ।
अस्पतालमा अक्सिजनको अभाव भए पनि महामारीको डरत्रासका कारण विभिन्न व्यक्ति तथा संस्थाले अक्सिजन सिलिण्डर घरमा लगि स्टक राख्ने गरेको सूचना जिल्ला प्रशासन कार्यालयलाई प्राप्त भएको सूचनामा उल्लेख छ।
महामारीको बिषम घडीमा सबै एकजुट भई सामना गर्नु प्रत्येक नागरिकको कर्तब्य भएकोले अभाव भएको समयमा सिलिण्डर होल्ड नगर्न प्रशासनले आग्रह गरेको हो। यसरी पछि चाहिन्छ भनेर घर वा संस्थामा होल्ड गरेर राखिएका सम्पूर्ण अक्सिजन सिलिण्डरको विवरण नजिकको सुरक्षा निकायमा चाँडो भन्दा चाँडो जानकारी गराई दिन प्रशासनले आग्रह गरेको छ।
‘सूचनाको अवज्ञा गरि बिना जानकारी ब्यक्तिरसंस्थाले अक्सिजन राखेको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने ब्यहोरा जानकारी गरिन्छ,’ सूचनामा उल्लेख छ।