काठमाडौं : लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका ६ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगन्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण अस्पताल कोहलपुरमा दुई र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार भेरी अस्पताल नेपालगन्जमा उपचाररत सल्यान कुमाख गाउँपालिका– १ निवासी ६७ वर्षीया महिला, बर्दिया मधुवन नगरपालिका– ६ निवासी ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका– ६ बाँकेनिवासी ३५ वर्षीया महिला, खजुरा गाउँपालिका– ३ बाँकेनिवासी ७५ वर्षीया महिला र नेपालगन्ज उपमहानगरपालिका– ५ निवासी ६१ वर्षीया महिलाको मृत्यु भएको हो ।
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका– २ निवासी २८ वर्षीय पुरुष र कैलाली लम्कीचुहा नगरपालिकानिवासी ४० वर्षीय पुरुषको मृत्यु भएको छ भने खजुरा गाउँपालिका– १ बाँकेनिवासी ६४ वर्षीया महिलाको होम आइसोलेसनमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय २२ पुगेको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ६७ को मृत्यु भएको छ ।
दाङमा मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिकाका पाँच र घोराहीका एकजना रहेका छन् । सोमध्ये पाँचको संस्थागत आइसोलेसन र एक होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएको छ ।
सो उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो सिटी अस्पतालमा उपचाररत तुलसीपुर– ७ का ६२ वर्षीय पुरुष र १२ का ६७ वर्षीय पुरुष मृत्यु भएको हो । यस्तै राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचाररत तुलसीपुर– ८ का ३० वर्षीया महिलाको मृत्यु भएको छ ।
यस्तै कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत तुलसीपुरका दुई संक्रमितको मृत्यु भएको छ । यही वैशाख २४ गतेदेखि अस्पतालमा उपचार गराइरहेका तुलसीपुर– १९ का ४९ वर्षीया महिलाको आज बिहान १स्०० बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोण वलीले जानकारी दिए ।
ओलीका अनुसार तुलसीपुर– ९ निवासी २४ वर्षीया महिलाको बिहीबार साँझ पौने ७स्०० बजेतिर मृत्यु भएको छ । यस्तै होम आइसोलेसनमा बसेका घोराही– ९ का ३३ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै वैशाख महिनामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९७ पुगेको केन्द्रले जनाएको छ ।