पश्चिम नवलपरासीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ । सशस्त्र प्रहरीको गोली गारेर घाइते भएका प्रतापुर गाउँपालिका-६ अभिनास रजभरको उपचारका क्रममा बुधबार दिउँसो मृत्यु भएको हो ।
नेपाल-भारत सीमावर्ती क्षेत्रमा स्थानीय र सुरक्षाकर्मीबीच विवाद हुँदा सशस्त्र प्रहरीले गोली चलाएको थियो । पश्चिम नवलपरासीका डीएसपी राजु लामाका अनुसार गोली लागेर घाइते भएका रजभरको शहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा लगिएकोमा त्यहाँ नै मृत्यु भएको थियो । उनको तिघ्रामा गोली लागेको थियो ।
कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै नेपाल भातर सीमानाका बन्द गरिएको अवस्थामा उनी भारत जान खोज्दा सुरक्षाकर्मीले रोकेपछि झडप स्थिति सिर्जना भएको हो । सशस्त्र प्रहरीका अनुसार सुस्ता गाउँपालिका–५ स्थित नथुई नाकाबाट भारततर्फ जान आएका स्थानीयलाई सीमामा रोकेपछि सुरुमा स्थानीयसँग भनाभन भएको थियो । पछि उनीहरूले गाउँबाट व्यक्तिलाई बोलाएर ढुंगामुढा गरेपछि झडप भएको हो ।
अश्रुग्यास प्रहार गर्दा पनि भिड नियन्त्रण नआएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले बताए । स्थानीयको आक्रमणबाट नाकामा खटिएका सशस्त्र नायब निरीक्षक (सई) शंकर बुढाथोकी घाइते भएका भएका छन् ।
स्थानीयले भने सुरक्षाकर्मीले बल प्रयोग गरेको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।