गृहपृष्ठ खबर नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागेर घाइते युवाको मृत्यु

नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागेर घाइते युवाको मृत्यु

प्रकाशित मिति:

परासी : सशस्त्र प्रहरीको गोली लागि घाइते भएका युवकको मृत्यु भएको छ । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा बुधबार स्थानीय र शसस्त्र प्रहरीबीच झडप हुँदा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर घाइते भएका थिए ।

घाइते राजभरको सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पुर्‍याएको थियो । उपचारका क्रममा उनको अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले बताए । उनको तिघ्रामा गोली लागेको प्रहरीले जनाएको छ ।

भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५स्थित नथुई नाका ( वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । सुरुमा ५/७ जनाको समूहमा जान आएका व्यक्तिहरुसँग शसस्त्र प्रहरीको भनाभन भएको थियो ।

त्यसपछि उनीहरुले गाउँबाट  ५०/६० जनाको समूह बोलाई  टोलीमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए । ‘भीड नियन्त्रण गर्न सुरुमा अश्रु ग्यास प्रहार गरिएको थियो । तर भीड अझ उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर १ राउण्ड गोली चलाइएको हो, ‘ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने ।

भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकी घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको शसस्त्र प्रहरीले जनाएको छ । जिल्लामा निषेधाज्ञालाई थप कडाई गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ । तर पनि स्थानीय नाकाबाट लुकिछिपी आउजाउ गर्ने गरेका छन् ।

सम्बन्धित् समाचार