काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६९५० अनुसार वैकल्पिक सरकारको दाबी प्रस्तुत गर्न दिएको समय शुक्रबार पाँच बजे सकिएको छ। राष्ट्रपतिले दिएको समयभित्र सरकार गठनका लागि प्रधानमन्त्री केपी ओली र विपक्षी गठबन्धन दुवैतर्फबाट दाबी प्रस्तुत भएको छ।
दुवै दाबी पत्रको अध्ययन गरेर संविधान कानुनबमोजिम निर्णय लिने र कदम चाल्ने जानकारी राष्ट्रपति भण्डारीले दलहरूलाई दिएकी छन्। दलहरुले राष्ट्रपतिको निर्णय पर्खेका छन्।
ओलीले दलगत आधारमा सांसदहरूको व्यक्तिगत हस्ताक्षर नै बुझाएका छन्। सांसदको हस्ताक्षरलाई आधार मान्ने कि दलको आधिकारिक पत्रलाई भन्ने विवाद छ। अब त्यसको टुंगो कसरी लाग्छ, संविधान र स्थापित प्रचलन अनि राष्ट्रपतिकै विवेकमा निर्भर हुन्छ।
विपक्षीहरू पुग्नुअघि नै प्रधानमन्त्री केपी ओली पनि १५१ सांसदहरूको हस्ताक्षरसहित नयाँ सरकार दाबी गर्न शीतल निवास पुगेका थिए। विपक्षी नेताहरूले राष्ट्रपतिसँग भेट्नका लागि समय कुरिरहेकै बेला ओली एक घन्टा राष्ट्रपति भण्डारीसँग छलफल गरेर बाहिरिएका थिए।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६९५० वमोजिम प्रधानमन्त्री पदको लागि दाबी गरेको जानकारी दिएका छन्। रिमालका अनुसार दाबी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महत्तो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीले हस्ताक्षर गरेका छन्।
विपक्षी गठबन्धनभन्दा पहिले नै ओलीले आफ्नो दाबी प्रस्तुत गरेको रिमालले बताएका छन्।