पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले आफूहरूलाई गरेको निष्कासनको कुनै अर्थ नहुने बताएका छन् ।
उनीसहित ११ जना नेतालाई एमाले स्थायी कमिटीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेकोप्रति प्रतिक्रिया दिँदै उनले भने, ‘कम्युनिस्ट विचारमा निष्ठावान हामीलाई कम्युनिस्ट आन्दोलनका गद्दारले गरेको कारबाहीको कुनै अर्थ हुँदैन ।’।
प्रतिगामी कदममार्फत संविधान लोकतान्त्रिक पद्धति र कम्युनिस्ट आचरणको पार्टी सिध्याउने खेलमा ओली लागेको उनको भनाइ छ । ‘पहिला स्वेच्छारी प्रवृत्तिको विरोध गर्दा नेकपा विभाजन गर्दै विघटनको अवस्थामा पुर्याए ओलीले एमालेलाई पनि सिध्याउने मनसायले अघि बढेका छन्,’ उनले भने ।
ओलीको कदमविरुद्ध नयाँ पार्टी खोलेर संविधान र लोकन्त्रका पक्षधरहरूलाई समाहित गर्दै उनको प्रतिगमनको सशक्त प्रतिवाद गर्ने खनालको भनाइ छ ।
सोमबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटीले खनालसहित माधव नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, निरादेवी जैरु, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिना खान, लक्ष्मीकुमार चौधरी र कल्याणी खड्कालाई साधरण सदस्य समेत नरहेन गरी निष्कासन गरेको थियो ।