गृहपृष्ठ खबर लुम्बिनी प्रदेशमा जसपाका ४ मन्त्री राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान गर्नबाट वञ्चित

लुम्बिनी प्रदेशमा जसपाका ४ मन्त्री राष्ट्रिय सभाको उपनिर्वाचनमा मतदान गर्नबाट वञ्चित

प्रकाशित मिति:

बुटवल : शंकर पोखरेल नेतृत्वमा मन्त्री बनेका जनता समाजवादी पाटीका चार प्रदेशसभा सदस्यले लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा मतदान गर्न नपाउने भएका छन् । एक पदका लागि यही जेठ १७ गते राष्ट्रिय सभा सदस्य उपनिर्वाचन हुँदैछ ।

सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका चार प्रदेश सभा सदस्यहरुमाथिको कारबाही यथास्थितिमा राख्न अन्तरीम आदेश जारी गरेपनि निर्वाचन आयोगले प्रकाशन गरेको अन्तिम मतदाता नामावलीमा उनीहरुको नाम राखेको छैन । निर्वाचन आयोगको गरेको अन्तिम मतदाता नामावलीमा प्रदेशसभा सदस्यबाट ७९ जनाको मात्रै नाम छ । जसमा जनता समाजवादी पार्टीले कारबाही गरेका प्रदेशका मन्त्री कल्पना पाण्डे, सन्तोष कुमार पाण्डे, विजय बहादुर यादव र सुमन शर्मा रायमाझीको नाम छैन ।

सर्वोच्चले ३ जेठमा उनीहरूलाई कारबाही गर्ने निर्णय १६ जेठसम्मका लागि कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको थियो । सर्वोच्च अदालतको आदेशपछि उनीहरू अहिले प्रदेश सभा सदस्यको हैसियतमा छन् । तर, प्रदेश सभाले त्यसअघि नै ८७ प्रदेश सभा सदस्य हुनुपर्नेमा जसपाले कारबाही गरेका चार जना, माओवादीले कारबाही गरेका दुई जना, र एमालेबाट राजीनामा गरेका दुई जना गरी आठ जना प्रदेश सभा सदस्यको पद रिक्त भएको पत्र निर्वाचन आयोगलाई पठाएको थियो । प्रदेशसभा सचिवालयले पठाएको पत्रका आधारमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको प्रदेश निर्वाचन कार्यालय लुम्बिनी प्रदेशका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । लुम्बिनीमा २ सय ९६ मतदाता छन्। जसमा प्रदेशसभा सदस्य ७९ र स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय १७ जनाले मतदान गर्ने छन् ।

राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा उक्त पद रिक्त भएको थियो । यसपाली नेकपा एमालेबाट तिनै चन्द्रबहादुर खड्का र गठबन्दनबाट दृगनारायण पाण्डे उमेदवार बनेका छन् । गठवन्दनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टीको ९उपेन्द्र समूह० को समर्थन छ । विपक्षी गठवन्दनका उमेद्वार पाण्डेय गत निर्वाचनमा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । मुख्यमन्त्री शंकर पोखरेल दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै उनले प्रदेश सभाबाट राजीनामा दिइ नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनको राजीनामापछि राष्ट्रिय सभाको उमेद्वार बनाउनेबारे गठबन्दनले सामुहिक निर्णय गरेको थियो ।

उपनिर्वाचनका लागि दाङको घोराहीस्थित कर्मचारी मिलनकेन्द्रमा मतदानस्थल तोकिएको छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । जसमा तीनवटा मतदान केन्द्र छन् । एउटालाई कोभिड संक्रमितका लागि छुट्याएको सूचना अधिकारी कुँवरले बताए ।

सम्बन्धित् समाचार