धनगढी : नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । बुधबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।
यसअघि नेकपा एमालेको स्थायी कमिटिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिने र सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।
५३ सदस्यीय प्रदेश सभामा नेकपा एमाले २५ सांसदसहित ठूलो दलका रुपमा छ। त्यसमा पनि ७ जना ओली पक्ष र १८ जना खनाल(नेपाल पक्षका सांसद छन्। बुधबारको बैठकमा २१ जना सांसदको उपस्थिति थियो।
नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा अहिले प्रदेश सरकार छ। नेकपा भएका बेला, सुदूरपश्चिम प्रदेश माओवादीको भागमा परेको थियो।
अहिले प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्ट र सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी एमालेको तर्फबाट मन्त्री छन्। शाह नेकपा एमाले संसदीय दलका नेतासमेत हुन्। तीनजना मन्त्री पनि खनाल नेपाल पक्षकै हुन्।