गृहपृष्ठ खबर मेलम्चीको पानी आपूर्ति २ महिना बन्द हुने

मेलम्चीको पानी आपूर्ति २ महिना बन्द हुने

प्रकाशित मिति:

काठमाडौँ : खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानीको सुरुङ मर्मत गर्ने जनाएको छ । असार १ गते सुरुङदेखि भदौसम्म मर्मत गर्ने भएकाले दुई महिना पानी आपूर्तिमा कमि हुने भएको छ । मन्त्रालयका अनुसार उपत्यकाको पानी आपूर्तिमा कमी हुन नदिन विकल्पको खोजी भइरहेको छ ।

‘विगत वर्षजस्तै यसपटक पनि वाग्मतीको पानी प्रशोधन केन्द्रबाट प्रशोधित गरेर पठाउने तयारी गर्छौं,’ मन्त्रालय का एक उच्च अधिकारीले भने, ‘जसरी पनि पानी आपूर्ति गर्नुपर्छ भन्नेमा छौं, विभिन्न चरणमा छलफल भइहरेको छ ।’ मेलम्ची कार्यान्वयन निर्देशनालय र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)लाई वैकल्पिक व्यवस्थापन गर्न निर्देशन दिइसकेको ती अधिकारीले बताए । गत वर्षदेखि वर्षातको तीन महिना मेलम्ची खानेपानी आयोजनाले बाग्मतीबाट दैनिक करिब ३ करोड लिटर भन्दा बढी पानी प्रशोधन गरेर उपभोक्ताको घर घरमा पठाएको ती अधिकारीले बताए ।

वैशाखदेखि मेलम्ची खानेपानी आयोजनाले दैनिक १७ करोड लिटर पानी वितरण सुरु गरेको हो । गत १५ चैत्रमा साडे ४ करोडबाट सुरु गरेको आयोजनाले पानी वितरण सुरु गरेको थियो । त्यसपछि पूर्णरुपमा १७ करोड लिटर पानी वितरण गर्न थालेको हो ।

मेलम्ची खानेपानी आयोजनाका प्रमुख रामकुमार श्रेष्ठले नयाँ सुरुङ भएकाले नियमित मर्मत गर्नुपर्ने बताए । ‘कतै समस्या आएको होइन,’ उनले भने, ‘एक महिना अघि नै मर्मत गर्नु पर्ने हो, ढिलो भयो, अब त चाँडो चाँडोभन्दा मर्मत गछौं ।’ विभिन्न ढोका, सुरुङ, ढलान गरेको स्थान लगायतको निरीक्षण गरेर मर्मत गर्नुपर्ने उनले बताए । तर, हालसम्म आयोजनामा खराबी भने केही पनि नआएको उनले बताए । हाल मेलम्चीको पानी विभिन्न स्थान पठाइरहेको भन्दै उनले ती स्थानमा पानीको कमी हुन नदिने उनले बताए ।

मिनभवन, खुमलटार, अनामनगर, बालाजु, महाराजगञ्ज, बाँसबारी र महाकाल लगायतका वितरण केन्द्रमार्फत अहिले पानी वितरण भइरहेको उनले बताए । हाल काठमाडौं विभिन्न स्थानमा पानी पोखरीको निर्माण पनि अन्तिम चरणमा पुगेको भन्दै उनले पाइप सफा गर्ने काम पनि भइरहेको बताए ।

सम्बन्धित् समाचार