गृहपृष्ठ खबर बाढी–पहिरोमा ६ को मृत्यु, २७ बेपत्ता, सय घर बगायो

बाढी–पहिरोमा ६ को मृत्यु, २७ बेपत्ता, सय घर बगायो

प्रकाशित मिति:

काठमाडौं : बाढीपहिरोमा परी तीन दिनमा ६ जनाको ज्यान गएको छ । २७ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढीपहिरोले १ सय घर बगाएको छ भने ६५ घरमा क्षति पुगेको छ ।

गृह मन्त्रालय, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सिन्धुपाल्चोक, गोरखा, मनाङ, प्युठान, पाल्पा, स्याङ्जा, लमजुङ, अर्घाखाँची, कास्की, जुम्ला, जाजरकोट, डोटी र बाजुरामा बाढी–पहिरोका घटना भएका हुन् ।

मंगलबार मेलम्ची खोलामा आएको बाढीबाट बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको र १६ जना अझै बेपत्ता रहेको केन्द्रको तथ्यांक छ । उक्त बाढीमा सातजनाको शव फेला परेको खबर सञ्चारमाध्यममा आए पनि पुष्टि भइनसकेको गृहले उल्लेख गरेको छ । मेलम्चीको बाढीमा हालसम्म १६ घर, दुईवटा मोटरपुल र ६ वटा झोलुंगे पुल पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । बाँकी विवरण आइनसकेको जानकारी दिइएको छ ।

बाढीले बाजुरामा एकजनाको ज्यान गएको छ भने अर्का एकजना अझै बेपत्ता छन् । त्यहाँ दुईवटा घर पूर्ण रूपमा क्षतिग्रस्त बनेका छन् । गोरखामा बाढीमा बगेर एकजना बेपत्ता भएका छन् भने चार घर बगाएको छ ।

मनाङमा बाढीले ५३ घर बगाएको छ भने २६ वटा घरमा क्षति पुगेको गृहले जनाएको छ । त्यहाँ एउटा सडक, बेलिब्रिज र सामुदायिक भवन तथा पाँचवटा झोलुंगे पुल र चारवटा सरकारी कार्यालयमा बाढीले पूर्ण रूपमा क्षति पु¥याएको छ । प्युठानमा बाढीमा परी एकजना बेपत्ता भएका छन् ।

पाल्पामा अविरल वर्षाका कारण एकजनाको ज्यान गएको र स्याङ्जामा पहिरोमा परी एकजना घाइते भएको तथ्यांक छ ।

लमजुङमा बाढीले १० वटा घर बगाएको छ भने ३९ वटा घरमा क्षति पु¥याएको छ । एकएकवटा मन्दिर र भवन पनि बगाएको छ ।

डोटीमा पहिरोमा परी एकजनाको ज्यान गएको छ, भने जुम्लामा दुईजना घाइते भएका छन् ।

जाजरकोटमा अविरल वर्षापछि बाढीमा परी सातजना बेपत्ता भएका छन् ।

अर्घाखाँचीमा बाढीले बगाउँदा एकजना बेपत्ता भएका छन् भने १२ घर पनि बगाएको छ ।

यसैगरी, कास्कीमा बाढीले एकजनाको ज्यान गएको छ भने तीन घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको गृहको तथ्यांक छ ।

सम्बन्धित् समाचार