गृहपृष्ठ खबर गाँजा तस्करीको आरोपमा पाँच जना पक्राउ

गाँजा तस्करीको आरोपमा पाँच जना पक्राउ

प्रकाशित मिति:

विराटनगर : पूर्वी पहाडका जिल्लाबाट तराई झारेर भारततर्फ तस्करी गर्न लगिएको गाँजासहित मोरङ प्रहरीले विराटनगरबाट पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन्।

प्रहरीले भारतको पञ्चायत फार्बिजगन्ज थानाका १९ वर्षीय सोनुकुमार यादव, अररिया पिर्पाघाट पञ्चायत विशनपुरका २८ वर्षीय जयराम यादव, अररिया नरपथगन्ज सोनापुरका ३० वर्षीय रञ्जित भन्ने प्रिन्स विचितर कुमारलाई पक्राउ गरेको हो।

सुनसरीको देवानगन्ज गाउँपालिका-१ का ४० वर्षीय उमेश यादव र धनकुटाको सहिदभूमि गाउँपालिका-१ का ३२ वर्षीय रुद्र राईसमेत पक्राउ परेका छन्। मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईका अनुसार शनिबार विराटनगर महानगरपालिका-६ रामपुरस्थित झाडीमा लुकाएको अवस्थामा अन्दाजी १८ केजी गाँजा बरामद भएको थियो।

प्रहीले प्रिन्स विचितर कुमारको साथबाट ७ लाख १६ हजार ६ सय भारतीय हजार रूपैयाँ पनि बरामद गरेको जनाएको छ।

बरामद गरिएको रकम तस्करीको गाँजा किन्न ल्याएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। प्रहरीले तस्करीको गाँजा ओसारपसारमा प्रयोग भएको को १ च २४१२ नम्बर मारुती भ्यान र चालक सुनसरीको धरान उपमहानगरपालिका १३ का सुम्निमा चोकमा बस्ने ४५ वर्षीय सूर्य राईलाई पनि पक्राउ गरेको छ।

पक्राउ परेका पाँचै जनालाई मोरङ प्रहरीले लागुऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान सुरू गरेको जनाएको छ ।

सम्बन्धित् समाचार