गृहपृष्ठ खबर कांग्रेसले दियो क्रियाशीलको प्रतिवेदन परिस्कृत गर्न २४ घन्टा समय

कांग्रेसले दियो क्रियाशीलको प्रतिवेदन परिस्कृत गर्न २४ घन्टा समय

प्रकाशित मिति:

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय क्रियाशील छानबिन समितिलाई नै क्रियाशील सदस्यताको प्रतिवेदन थप अध्ययन गरी परिस्कृत बनाएर ल्याउन आग्रह गरेका छन्।

बुधबार बूढानिलकण्ठस्थित निवासमा पदाधिकारी बैठक राखेर देउवाले प्रतिवेदनलाई अझै परिस्कृत बनाउन २४ घन्टाको समय दिएका छन्।

केन्द्रीय सदस्यसमेत रहेका लेखक नेतृत्वको छानबिन समितिले सभापति देउवालाई मंगलबार क्रियाशीलको प्रतिवेदन बुझाएको थियो। त्यो प्रतिवेदन अपुरो रहेको भन्दै आलोचना भइरहेको थियो। थप अध्ययन गरी विवादित क्षेत्र टुंग्याउन पदाधिकारी बैठकले छानबिन समितिलाई नै थप समय दिएको हो।

स्रोतका अनुसार पदाधिकारी बैठकमा क्रियाशील प्रतिवेदन अध्ययन गर्न अर्को समिति बनाउनेबारे पनि छलफल भएको थियो। पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य मिनेन्द्र रिजाललगायत रहने गरी समिति बनाउने भने पनि पछि लेखक नेतृत्वकै समितिलाई २४ घन्टा समय दिइएको स्रोतको दाबी छ।

बुधबार देउवा निवासमा चार घन्टासम्म पदाधिकारी बैठक बसेको थियो।

‘क्रियाशीलबारेको प्रतिवेदनमाथि पदाधिकारी बैठकमा छलफल भयो,’ प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘क्रियाशील सदस्यता छानबिन समितिले दिएको प्रतिवेदनमा जे अधुरो विषय छन् त्यो उहाँहरूले नै फेरि भोलिसम्म अध्ययन गर्नुहुन्छ।’

क्रियाशीलको प्रतिवेदनबारे छानबिन समितिकै सदस्य कल्याण गुरूङले फरक मत राखेका थिए। कागजातविनै कतिपय क्षेत्रमा क्रियाशील दिइएकोमा उनले असन्तुष्टि जनाएका थिए।

सम्बन्धित् समाचार