गृहपृष्ठ खबर अर्घाखाँची अस्पतालमा डाक्टरलाई बिरामीका आफन्तले एम्बुलेन्समा थुने

अर्घाखाँची अस्पतालमा डाक्टरलाई बिरामीका आफन्तले एम्बुलेन्समा थुने

प्रकाशित मिति:

अर्घाखाँचीको जिल्ला अस्पतालमा बिरामी जाँचिरहेका स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले दुर्व्यवहार गरेका छन् ।

पूर्व राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्काकी आमालाई उपचार गर्ने क्रममा बिरामीका आफन्तले अस्पतालका निमित्त मेडिकल सुपेरिटेण्डेन्ट डा. कपिल गौतमसहित उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरेको अस्पतालले बताएको छ ।

निमित्त मेसु डा गौतममाथि अपशब्द तथा अनादारार्थी शब्दहरु प्रयोग गरी बिरामीका आफन्तले उनलाई केहीबेर एम्बुलेन्समा थुनेको आरोप अस्पतालले लगाएको छ । अस्पतालले विहीबार विहान प्रेश विज्ञप्ती जारी गर्दै अस्पतालमा बिरामी जाँचिरहेका स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेहरुमाथि कडा कारवाही गर्न माग गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल र निमित्त मेसु गौतमद्वा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ-‘डा कपिल गौतम एम्बुलेन्सभित्र प्रवेश गरी कोभिड बिरामीको प्रकृति अनुसार अक्सिजन मिलाउँदै गरेको अवस्थामा एम्बुलेन्सको ढोका लगाइ ‘यो डाक्टरको काम छैन, यसलाई पनि काठमाडौं लैजान पर्छ, विरामीसँगै जान्छ’ जस्ता अभद्र अपशब्द प्रयोग गरी गाडीचालकलाई तुरुन्तै गाडी हिडाल भनी दवाद दिइएको थियो ।’

केही समय एम्बुलेन्सभित्र थुनिएपछि अन्य व्यक्तिहरुको मद्धतले एम्बुलेन्सको ढोका खुलेपछि डा गौतम बाहिर निस्किन पाएको अस्पतालले बताएको छ ।

बिरामीलाई बुधबार बिहान ११:३२ बजे अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो । निमित्त मेडिकल सुपरिटेण्डेन्ट कपिल गौतम, डा पुजा पन्थ र आकस्मिक कक्षमा कार्यरत स्वास्थ्य कर्मीहरुले बिरामीको उपचार गरी कोभिड-१९ को जटिल निमोनिया देखिएको भन्दै बिरामीलाई तत्काल काठमाडौं लैजान ‘रेफर’ गरेको थियो ।

आकस्मिक कक्षमा डा गौतम, डा पुजा पन्थी लगायत अन्य स्वास्थ्यकर्मीमाथि ‘तँ को हो ? यहाँको ओजेटी, नर्स सबैको नाम लेखेर दे, मेरो बिरामीलाई केही तलमाथि भयो भने सबै जिम्मेवार हुन्छौ’ भन्नेजस्ता धम्कीपूर्ण शब्दहरु प्रयोग गरेर  गालीगलौज तथा अभद्र व्यवहार गरेको अस्पतालको भनाई छ ।

अस्पतालले उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुर्ब्यवहारले अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मीको मनोबल गिरहेको, उत्साह घटेको र असुरक्षित महसुस भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ-‘स्वास्थ्यकर्मीलाई निरुत्साहित गर्ने यस्ता क्रियाकलापले आफ्नो ज्ञान, सीप, दक्षताको सही सदुपयोग गरी सेवामा तल्लिन हुन निकै कठिन हुने सम्पूर्ण अस्पतालका कर्मचारीले महसुस गरेका छन् ।’

अस्पतालले घटनाप्रति गम्भीर ध्यानाकर्षण गराई सत्यतथ्य छानविन गरी दोषीमाथि प्रचलित ऐन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ ।

सम्बन्धित् समाचार