नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले सन्न्यास लिए पनि आफू क्रिकेटबाट भने नटाढिएको बताएका छन् ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा पूर्वकप्तान खड्काले आफू क्रिकेटबाट नटाढिएको र अब फरक भूमिकामा देखिने बताएका हुन् ।
‘म क्रिकेटबाट टाढिएको होइन र टाढिने पनि छैन,’ उनले भने, ‘अब फरक भूमिकामा देखिन्छु । त्यसका लागि मैले यो समय उचित लागेर सन्न्यासको निर्णय लिएको हुँ ।’
उनले आगामी दिनमा क्रिकेट व्यवस्थापनमा आउने इच्छा रहेको पनि बताए । ‘क्रिकेट व्यवस्थापनमा आउने इच्छा छ,’ उनले भने, ‘धेरैको चाहना म आगामी दिनमा क्यानमा आउनुपर्छ भन्ने छ । ’
उनले आफ्ना कारण मात्रै नेपाली क्रिकेट टिम यहाँसम्म आइनपुगेको बताए । ‘पारस खड्काले गर्दा मात्रै नेपाली टिम यहाँ आइपुगेको होइन,’ उनले भने, ‘सबै साथीहरूको उत्तिकै भूमिका छ । मभन्दा अगाडिका अग्रज खेलाडीको भूमिका पनि उत्तिकै छ ।’
उनले नेपाली क्रिकेटलाई माथि उठाउन आफूले अब व्यवस्थापकको भूमिका निर्वाह गर्न नयाँ बाटो रोजेको बताए । पूर्वकप्तान खड्काले केही समयमै क्रिकेट एकेडेमीको सुरुवात गर्ने पनि बताए ।