गृहपृष्ठ खबर ९७ प्रतिशत रोपाइँ सम्पन्न, यो वर्ष १ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने अनुमान

९७ प्रतिशत रोपाइँ सम्पन्न, यो वर्ष १ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन हुने अनुमान

प्रकाशित मिति:

कृषि विभागले धानखेती हुने सबै क्षेत्रमा लगभग रोपाइँ सम्पन्न भएको जनाएको छ । विभागले नेपालभर १४ लाख ५८ हजार हेक्टरमा धान खेती हुने गरेकोमा सबैतिर रोपाइँ सम्पन्न भएको जनाएको हो ।

समयमै मनसुन सुरु भएका कारण धान रोपाइँ सम्पन्न भएको कृषि विभागका सूचना अधिकारी डा. महादेवप्रसाद पौडेलले जानकारी दिए ।

अब २ प्रतिशत रोपाइँ हुन बाँकी होला, यो साता सबै प्रदेशमा रोपाइँ सकिने उनको भनाइ छ । विगतका वर्षभन्दा यो साल मल बिउ समयमा किसानले पाएका कारण रोपाइँ उल्लासमय भएको पौडेलले बताए ।

गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँ बढेको छ । ५ वर्षयता धान उत्पादन वृद्धि भइरहेको छ । यो वर्ष पनि धान उत्पादन १ लाख मेट्रिक टनभन्दा धेरै हुने विभागको अनुमान छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा ५६ लाख २१ हजार ७ सय १० टन धान उत्पादन भएको छ । यो वर्ष करिब ५८ लाख टन धान उत्पादन हुने विभागको अनुमान छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको विभागले जनाएको छ ।

सरकारले आगामी ५ वर्षभित्र नेपाललाई धानमा अत्मनिर्भर बनाउने लक्ष्य अघि सारेको छ । आर्थिक २०७१/७२ देखि नेपालमा धान उत्पादन वार्षिक रूपमा बढिरहेको कृषि तथा पशुपन्छी मन्त्रालयले बताएको छ ।

कुन प्रदेशमा कति रोपाइँ ?

प्रदेश नम्बर १ मा ९५ प्रतिशत, प्रदेश नम्बर २ मा ९२.३६ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । प्रदेश नम्बर १ मा २ लाख २५ हजार ८ सय हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको विभागको तथ्यांक छ ।

प्रदेश नम्बर २ मा ९६.३६ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । ३ लाख ६५ हजार ६ सय १५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेकोमा यो वर्ष लगभग सबैतिर धान रोपाइँ भइसकेको विभागले जनाएको छ ।

बागमती प्रदेशमा ९७.५२ प्रतिशत धान रोपाइँ सकिएको विभागको तथ्यांक छ । यो प्रदेशमा  १ लाख १५ हजार २ सय ९५ हेक्टर क्षेत्रमा धान खेती हुने गरेकोमा यो वर्ष प्राय: शतप्रतिशत धान रोपाइँ सकिएको विभागले जनाएको छ ।

गण्डकी प्रदेशमा ९६.८५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ । यो प्रदेशमा १ लाख २० हजार ५ सय ३० हेक्टर क्षेत्रफल धान खेती हुने गरेको छ ।

लुम्बिनी प्रदेशमा ९७.२५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।  यो प्रदेशमा ३ लाख ६५ हजार ९३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । यो वर्ष लुम्बिनी प्रदेशमा पनि शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।

कर्णाली प्रदेशमा सबैतिर रोपाइँ सकिएको विभागले जनाएको छ । यो प्रदेशमा ४६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने गरेको छ ।

सुदूरपश्चिम प्रदेशमा पनि रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ । यस प्रदेशमा  १ लाख ८५ हजार ८ सय ४६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ ।

सम्बन्धित् समाचार