गृहपृष्ठ खबर रुपन्देहीको सैनामैनामा बन्यो नमुना बस्ती, दसैँमा हस्तान्तरण गरिने

रुपन्देहीको सैनामैनामा बन्यो नमुना बस्ती, दसैँमा हस्तान्तरण गरिने

प्रकाशित मिति:

रुपन्देहीको सैनामैना नगरपालिकाका जन्मिएर विभिन्न परिस्थितिले घरबारविहीन भएकाहरूको लागि सैनामैनाको बरौली भाटा गाउँमा नमुना बस्ती बनेको छ ।

संघीय सरकारको तराई समृद्धि कार्यक्रम र नगरपालिकाको लागत साझेदारीमा बनिरहेको यो नमुना बस्ती आउँदो दसैँमा घरबारविहीनहरूलाई हस्तान्तरण गर्ने नगरपालिकाले जनाएको छ । सैनामैना नगरपालिकाको वडा नं. ११ को बरौली भाटा गाउँमा नदीउकास क्षेत्रमा नमुना बस्ती बनेको हो ।

कुल ४ बिघा क्षेत्रफलमा रहेको उक्त नमुना बस्तीमा १० घर बनेका छन् । विभिन्न परिस्थीति, प्रकोप तथा चक्रपथबाट विस्तापित भएका केही घरवारविहीनहरूलाई नमुना बस्तीमा स्थान्तरण गर्ने योजना रहेको नगरप्रमुख चित्रबहादुर कार्कीले बताए ।

एउटा घर निर्माणका लागि १८ लाख खर्च भएको छ । १० घर बनाउन १ करोड ८० लाख र बिजुली, धारा लगायत जडान गर्दा २ करोड जति खर्च भएको उनले बताए । त्यसबाहेक कम्पाउन्ड वालका लागि १ करोड बढी लागेको भएको उनको भनाइ छ ।

‘सञ्चालनको मोडालिटी, मर्मतको मापदण्ड बनाएर दसैँसम्म वितरण गर्ने लक्ष्य लिएका छौँ । घरहरू तयार भइसकेका छन्,’ उनले भने ।

नमुना बस्तीमा फुटसल, हरियाली पार्क, खेल मैदान, जिम हाउस छन् । नदीउकास क्षेत्रमा बनेको नमुना बस्तीलाई सुरक्षित बनाउन जनताको तटबन्द कार्यक्रममार्फत किनारमा तटबन्धको काम गरिएको छ । नगरपालिकाले बस्तीका प्रत्येक घरमा रहेका परिवारका सदस्यमध्ये एक जनालाई रोजगारीको व्यवस्था गर्नेसमेत बताएको छ ।

नमुना बस्तीमा बस्ने परिवारहरूका लागि सामूहिक खेती गर्न सक्ने गरी लिजमा जग्गा उपलब्ध गराउने योजना पनि नगरपालिकाको रहेको कार्कीले बताए । यसले नमुना बस्तीमा बस्नेहरूका लागि रोजगार उपलब्ध हुने र कामको खोजीमा बस्ती नै छाडेर हिँड्नुपर्ने अवस्थाको अन्त्य हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित् समाचार