गृहपृष्ठ खबर लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

लुम्बिनीका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

प्रकाशित मिति:

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको विशेष अधिवेशन सुरु हुनअघि नै उनले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन् ।

पोखरेलले बुधबार दिउँसो प्रदेश प्रमुखलाई भेटेर राजीनामा बुझाएको सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए । सरकार अल्मतमा रहेको भन्दै विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध साउन १९ गते अविश्वास प्रस्ताव दर्ता गराएको थियो । विपक्षी दलका ३४ प्रदेशसभा सदस्यको समावेदनअनुसार प्रदेश प्रमुख शेरचनले बुधबार दिउँसो १ बजेका लागि विशेष अधिवेशन आह्वान गरेका छन् ।

प्रदेशप्रमुख शेरचनले संविधानविपरीत विशेष अधिवेशन आह्वान गरेको भन्दै प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री लीला गिरीले अधिवेशन फिर्ताको माग राखी सर्वोच्चमा सोमबार रिट दायर गरेका छन् । मंगलबार हेर्न नभ्याइनेमा परेको उक्त रिट बुधबार पनि पेसीको आठौं नम्बरमा रहेकाले अधिवेशन स्थगित हुने सम्भावना नदेखेपछि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन् ।

यसअघि बुधबार बिहान ८ बजे मुख्यमन्त्री निवासमै बसेको एमाले संसदीय दलको बैठकले पनि सर्वोच्चको आदेश पर्खने र आदेश नआएको अवस्थामा विशेष अधिवेशनको सामना वा राजीनामा गर्ने निर्णयको अधिकार मुख्यमन्त्री पोखरेललाई नै दिएको थियो । संसदीय दलको बैठकमा विशेष अधिवेशन बहिष्कार गर्ने विषयमा पनि छलफल भएको प्रदेशसभा सदस्यहरूले बताए । बैठकमा बहुमत नपुग्ने अवस्था भएपछि राजीनामा दिँदा नै राजनीतिक जित हुने भनी केही सदस्यले सुझाव दिएको बताइएको छ ।

संसदीय दलको बैठक सकिएपछि पोखरेलले मुख्यमन्त्री निवासमै मन्त्रिपरिषद् बैठक पनि डाकेका थिए । बैठकमा पनि मन्त्रीहरूको सुझाव सुनेका मुख्यमन्त्री पोखरेलले त्यसलगत्तै प्रदेशप्रमुख शेरचनसमक्ष राजिनामा दिएका हुन् ।

अब प्रदेशप्रमुखले सरकार गठनका लागि आह्वान गर्नेछन् । विपक्षी गठबन्धनले मुख्यमन्त्रीको राजीनामा स्वागतयोग्य रहेको जनाएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले राजीनामा स्वागतयोग्य रहेको जनाउँदै अब कसरी अघि बढ्ने भन्ने विषयमा गठबन्धनले छलफल गरिरहेको बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा अहिले ८० सदस्य छन् । तीमध्ये सभामुखसहित विपक्षी गठबन्धनमा ४२ र एमालेमा ३८ जना छन् । यसअघि पार्टीको निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै कारबाहीमा परेका जसपाका तीन मन्त्रीमध्ये भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेयले पनि मंगलबार राति राजीनामा दिएका थिए ।

सम्बन्धित् समाचार