लुम्बिनी : रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा कृषि अनुदानको रकम दुरुपयोग भएको पाइएको छ । छानबिनबाट दुरुपयोग भएको पुष्टि भएपछि नगरपालिकाले त्यसमा संलग्नलाई ३ दिनभित्र रकम खातामा जम्मा गर्न मंगलबार निर्देशन दिएको हो ।
नगरपालिकाका अनुसार केही वडाध्यक्षको सिफारिसमा मृत्यु भएसकेका व्यक्तिको नाममा नक्कली औंठाछाप र एउटै परिवारका धेरैले रकम बुझेको पाइएपछि रकम फिर्ता गर्न भनिएको हो ।
लुम्बिनी सांस्कृतिक–२ का राजु मल्लाहले मृत्यु भइसकेका बुबाको नाममा आफैंले औंठाछाप र हस्ताक्षर गरी अनुदान सम्झौता गरेर रकम बुझेको पाइएको छ । उनले मृतक बुबा रामसमुझको नामको पुर्जा देखाएर गत असार १४ मा वडा कार्यालयमा सम्झौता गरेका थिए । कर कट्टा गरी १९ हजार ७ सय रुपैयाँ बुझेको राजुले स्वीकारे ।
मल्लाहले आफूले जानीजानी बदमासी नगरेको भन्दै सोही जमिनमा खुर्सानी, केरा र टमाटर खेती गरिरहेको बताए । गत असार २० मा भुक्तानी पाउने बेला भने आफ्नै नाममा हस्ताक्षर गरेको उनले दाबी गरे ।