लुम्बिनी : मुलुककै प्रमुख पर्यटकीय गन्तव्यस्थल लुम्बिनीको मायादेवी मन्दिर साढे तीन महिनापछि बिहीबारबाट खुला गरिएको छ । अब स्वदेशी र विदेशी पर्यटक, तीर्थयात्री र श्रद्धालुहरू मन्दिर अवलोकन गर्न सक्नेछन् । मन्दिर खुलेसँगै लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल श्रीमती एवं सांसद सुजिता शाक्यसँग यहाँ आएर पूजाआजा गरे ।
मन्दिर खोलिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बिहीबार मात्रै ६ सय जनाभन्दा धेरै आन्तरिक पर्यटकले मन्दिर अवलोकन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पर्यटकलाई मन्दिर प्रवेश खुला गरिएको हो । डेढ–डेढ मिटरको दूरीमा लाइन लगाएर शरीरको तापक्रम नापी प्रवेश दिइएको छ । सेनिटाइजर र मास्क नलगाई आउनेलाई प्रवेश निषेध गरिएको छ । मायादेवी मन्दिर र मन्दिर परिसरमा रहेका अशोक स्तम्भ, पुष्करणी पोखरी, स्तुप, बिहारका भग्नावशेष र प्राचीन इनार अवलोकन गरी पर्यटक फर्कने गरेका छन् । रुचि हुने व्यक्ति ध्यानसमेत बस्ने गरेका छन् ।
लुम्बिनी विकास कोष सचिवालयको बैठक बसेर मन्दिर खुला गरिएको कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले बताए ।
कोरोना भाइरस संक्रमणको पहिलो लहरमा यहाँ होटल तथा रेन्टुरेन्ट करिब ८ महिना बन्द भएका थिए । व्यवसायीले ८० करोड बढी नोक्सान व्यहोरेको बताएका थिए । यहाँ सामान्यदेखि तारेसम्मका ८० होटल छन् । लुम्बिनीमा स्वदेशी र विदेशी पर्यटक एवं तीर्थयात्री बर्सेनि १६ लाखको हाराहारीमा आउने गरेका छन् । सन् २०१९ मा १ सय १५ मुलुकका ३ लाख ८० हजार विदेशी र ११ लाख ७८ हजार आन्तरिक गरी १५ लाख ५८ हजार पर्यटक यहाँ आएका थिए ।