३४ दिन भयो सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले धर्ना थालेको। क्रियाशील सदस्यताको विवाद नटुंगिएको विषयले पछिल्लो समय कांग्रेस पार्टी कार्यालय नेता–कार्यकर्ताको घेराबन्दीमा परेको छ।
क्रियाशील सदस्यता वितरणमा भएको धाँधली छानबिनको माग सम्बोधन नहुँदा केन्द्रीय कार्यालयमा सुरु गरिएको धर्नालाई निरन्तरता दिन बाध्य हुनुपरेको धर्नामा बसेका नेता तथा कार्यकर्ता बताउँछन्। नेपाली कांग्रेस बाराका नेता उपेन्द्र यादव सदस्यताको टुंगो नलाग्दा आफूहरू धर्नामा बसिरहन बाध्य भएको बताउँछन्। उनले न्याय नदिएसम्म जिल्ला नफर्कने चेतावनी दिए।
३० दिनयता पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिँदै आएका रौतहट क्षेत्र नम्बर १ का नेता–कार्यकर्ताहरू पार्टीको विधि र विधानविपरीत क्रियाशील सदस्यता वितरण गर्ने काम गरिएकाले त्यसको विरोधमा धर्ना जारी राख्न बाध्य हुनुपरेको बताँउछन्। जिल्ला कार्यसमिति रौतहटका कोषाध्यक्ष रामश्रीषप्रसाद साहले विधि र विधानविपरीत गएर दिइएको क्रियाशील सदस्यता खारेज नभएसम्म धर्नासहितको आन्दोलनलाई जारी राख्ने बताए।