अर्घाखाँची : शीतगङ्गा नगरपालिका-६ दाङ्ग सिङ्गको पाखापानीका ४२ वर्षीय टीकाबहादुर बादीको परिवार फाटेको प्लास्टिक र बोराले छाएको सानो झुप्रोमा बस्छ । फाटेको त्रिपाल र बोराले छाएको घरमा बसेका टीका बहादुरको परिवारसँग न ओत लाग्ने घर छ, न खाने अन्न ।
श्रीमती गुमाएका टीका बहादुरका पाँच छोराछोरी छन् । उहाँ आफैँ अपाङ्ग हुनुहुन्छ । एक हात र एक खुट्टाका औँला गाँसिएका छन् । उहाँले कसैकोमा मेलापात गएर पनि काम गर्न सक्नुहुन्न ।
छानो नै नभएको घरमा बस्नु परेको बताउँदै उहाँले घर बनाउने आश्वासन दिए पनि कसैले वास्ता नगरेको दुखेसो गर्नुभयो । कोभिड र गरिबीका नाममा थुप्रै राहतका प्याकेज र कार्यक्रमहरु आए पनि आफूले केही नपाएको उहाँले बताउनुभयो।
शीतगङ्गा- ६ का वडाअध्यक्ष रिसी रेश्मीले जनता आवास कार्यक्रम अन्तरगत टीका बहादुरको घर निर्माणसम्मको प्रक्रिया पूरा गरे पनि काम भने सम्पन्न हुन नसकेको बताउनुभयो।