काठमाडौं : बैंकिङ कसुरमा फरार केदार ढुंगानालाई इन्टरपोलको सहयोगमा पोर्चुगलबाट पक्राउ गरी नेपाल ल्याइएको छ । इन्टरपोलले ‘रेड नोटिस’ जारी गरेको अभियुक्त केदार ढुंगानालाई पोर्चुगल प्रहरीको सहयोगमा काठमाडौं ल्याएको हो ।
ढुंगानालाई पोर्चुगल प्रहरीले पक्राउ गरेको थियो । उनी पछिल्लो समय पोर्चुगलका लागि आवासीय भिसाको प्रक्रियामा थिए । ढुंगानालाई आइतबार अदालतमा पेश गरिने केन्द्रीय अनुसन्धान ब्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
देव विकास बैंकको दुई करोड ७१ लाख ७६ हजार रूपैयाँ कर्जा हिनामिना प्रकरणमा उनीसहित १२ प्रतिवादी थिए । ढुंगानामाथि किर्ते कागजात बनाएर सवारी कर्जा हिनामिना गरेको कसुर छ । ढुंगानाविरूद्ध जिल्ला अदालत काठमाडौंमा पाँच र ललितपुर जिल्ला अदालतमा १० थान मुद्दा दर्ता भएका थिए ।
ललितपुर अदालतमा परेका १० वटै मुद्दामा उनलाई १ वर्ष कैद र ७० हजार जरिवाना सजाय तोकिएको थियो । २०७७ साल पुस २० गते फैसला भएपछि उनी युएई पुगेका थिए । अन्य व्यक्ति भने पक्राउ परिसकेका छन् ।