गठबन्धन दललाई समर्थन गर्दै मन्त्री लुम्बिनी प्रदेशको विना विभागीय मन्त्रीसमेत बनेका अजय शाहीले आफूलाई एमालेको ह्वीप नलाग्ने दाबी गरेका छन्।
लुम्बिनीमा गठबन्धनलाई साथ दिएपछि उनलाई निर्वाचित हुन सहयोग गरेको दल नेकपा एमालेले कारबाही प्रक्रिया अगाडि बढाउँदै स्पष्टीकरण सोधेको थियो।
एमालेले कारवाही प्रक्रिया अगाडि बढाएपछि शाहीले आफू एमालेको सूर्य चुनाव चिन्ह लिएर स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको बताएका छन्। आफूले एमालेको सदस्यता नलिएको र स्वतन्त्र रुपमा निर्वाचन जितेको भन्दै राजनीतिक पार्टीको ह्वीप नलाग्ने उनले दाबी गरेका छन्।
‘म नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र १ ‘ख’ बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्य हुँ। म आवद्ध रहेको स्वतन्त्र राजनीतिक समूह र तत्कालीन नेकपा (एमाले) बीच भएको २ दुई बुँदे सम्झौता सहमति अनुसार मैले सूर्य चुनाव चिन्ह प्रयोग गरेर स्वतन्त्र रुपमै निर्वाचनमा होमिएर निर्वाचित भएको हुँ,` उनले भनेका छन्, ‘मैले नेकपा (एमाले) पार्टीको सदस्यता लिएको छैन। तसर्थः मलाई राजनीतिक पार्टीको व्हीप लाग्दैन।’