बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा राजेन्द्र खनाललाई हटाउने निर्णय नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले जाँदाजाँदै साउन २७ गते मेसु डा राजेन्द्र खनाललाई हटाई रेडियोलोजी विभाग प्रमुखमा स्थानान्तरण गर्ने निर्णय गरेको तत्कालीन मन्त्रीले सार्वजनिक गरेका थिए।
मेसुमा डा ईन्द्र ढकाललाई नियुक्त गरेको तत्कालीन स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले जनाएका थिए। शंकर पोखरेल नेतृत्वको सरकारले राजीनामा दिएको एक सातापछि डा खनाललाई मेसुबाट हटाउने निर्णय माइन्युट नभएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा विकास देवकोटाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट मेसु परिवर्तनको पत्र नआएको बताए। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा पनि मेसु हटाइएको निर्णय अद्यावधिक भएको छैन। पूर्ववर्ती सरकारका प्रवक्ता बैजनाथ चौधरीले भने खनाललाई मेसुबाट हटाएर रेडियोलोजी विभागमा सरुवा गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको दोहोर्याए।