दाङ : वन क्षेत्र अतिक्रमण गरेको आरोपमा डिभिजन वन कार्यालय दाङले २२ जनाविरूद्ध मुद्दा चलाएको छ । लकडाउनको मौका छोपी बबई गाउँपालिकाका वडा नं. ५ बबरपुरस्थित कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेतीपाती गर्नुका साथै घर समेत निर्माण गरेको पाइएपछि मुद्दा चलाइएको हो । त्यस्ता २२ जनाविरूद्ध मुद्दा चलाएर कानूनी कारबाहीको प्रक्रिया सुरू गरिएको पुरन्धारा सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिए ।
अनुसन्धान अधिकृत समेत रहेका सहायक वन अधिकृत बरालका अनुसार वन अतिक्रमण मुद्दा चलाइएकामध्ये दुई जना पक्राउ परेका छन् । अन्य २० जना फरार रहेको र उनीहरूको खोजी भइरहेको बरालले बताए ।
उनीहरूविरूद्ध दाङ–देउखुरी जिल्ला अदालतमा वन अतिक्रमण गरेको मुद्दा दर्ता गरी अदालतबाट पक्राउ गर्ने अनुमति अनुसार खोजी कार्य भइरहेको सहायक वन अधिकृत बरालले जानकारी दिए ।