गृहपृष्ठ खबर वाणगंगा नगरपालिका–५ स्थित भाइरल उद्यानमा पर्यटकको भीड !

वाणगंगा नगरपालिका–५ स्थित भाइरल उद्यानमा पर्यटकको भीड !

प्रकाशित मिति:

कपिलवस्तु : टिकटकमा भाइरल भएपछि कपिलवस्तुको वाणगंगा नगरपालिका–५ स्थित मधवलिया वन उद्यानमा आन्तरिक पर्यटकको भीड बढेको छ । त्यहाँ पुग्ने युवकयुवती बगैंचामा फुलेका मनमोहक फूल र हरियाली वातावरणमा रमाउँछन् ।

हातहातमा हुने मोबाइलमा टिकटक बनाउँछन् । पोस्ट गर्छन् । यसरी पोस्ट भएको टिकटक हेरेरै यहाँ आउने पर्यटक बढेको वाणगंगा नगरपालिका–५ का वडाध्यक्ष भीष्मराज भुसालले बताए ।

उजाड र रुख नभएका ठाउँमा मधवलिया सामुदायिक वन उपभोक्ता समूहले पर्यापर्यटनको आकर्षण केन्द्र बनाउन दुई वर्षदेखि निर्माणको काम गर्दै आएको छ । ८० प्रतिशत काम पूरा भएको छ । तर, यहाँ दैनिक ७ सयदेखि १ हजारसम्म आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको वन उपभोक्ता समूहका अध्यक्ष खडानन्द गौतमले बताए । पछिल्लो तीन महिनायता घुम्न आउने बढेका हुन् । टिकटक हेरेरै आफूहरू यहाँ आएको हो ओदारीकी पुनम गुप्ताले बताइन् ।

माटोको पहाड बनाएर बाघ, डाँफे, मयुर, मृग र खरायोलगायतका ढलोटको आकृति राखिएको छ । अग्लो ठाउँमा हुँदा तलबाट आकर्षक देखिन्छ । त्यहाँ शिव भगवान्को मुर्तिमा माथिबाट पानी खसिरहने वाटर फाउन्टेन रहेको छ । त्यस्तै मण्डला बनाइएको छ । मण्डलामा पनि नौ फिट माथिबाट पानी खसिरहने वाटर फाउन्टेन राखिएको छ । मोटरका माध्यमबाट निरन्तर पानी खसिरहने हुँदा त्यहाँ पनि रोमाञ्चित बन्ने गरेका छन् । त्यहाँ रुद्राक्ष, रक्तचन्दन र कपूरलगायतका डेढ सय बढी प्रजातिका विरुवा रोपिएका छन् । त्यस्तै मखमली, गुलाब, सयपत्री, पिटुनिया, गुर्दौली र चमेली फूलले उद्यानलाई चम्काएको छ । पूर्व–पश्चिम राजमार्गस्थित बुङ्चीदेखि एक किमि दक्षिण रहेको उद्यान ५ हेक्टर क्षेत्रफालमा फैलिएको छ ।

सम्बन्धित् समाचार