काठमाडौं : अफगानिस्तानबाट मंगलवार थप ११२ जना नेपाली स्वदेश फर्किएका छन्। तीमध्ये जोर्डन एभिएसनको उडानबाट १०३ र कतार एयरको उडानबाट नौ जना स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ। योसँगै अफगानिस्तानबाट हालसम्म ७७० जना नेपाली स्वदेश फर्किएका छन्।
आगमनपश्चात् अध्यागमनलगायतका आवश्यक प्रक्रिया पूरा गरी सीसीएमसीको समन्वयमा उनीहरुलाई सामाखुसीस्थित नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा स्वास्थ्य मापदण्ड अनुसार कोभिड-१९ को परीक्षणलगायतका प्रक्रिया पूरा गरी आवश्यक व्यवस्थापन गरिएको छ। अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौंसम्म ल्याउनका लागि निरन्तर समन्वय र सहजीकरण भइरहेको परराष्ट्रले जनाएको छ।
मन्त्रालयका अनुसार अफगानिस्तानबाट उद्धार भई नेपाली नागरिक फर्कने क्रम जारी रहेका छन्। अफगानिस्तानमा रहेका नेपाली नागरिकलाई सरकारले आफ्नो विवरण भर्नका लागि कन्सुलर सेवा विभागको बेवपोर्टल तथा भाइबर र ह्वाट्सएपसहितको मोबाइल नम्बरसमेत उपलब्ध गराएको छ। सरकारले उपलब्ध गराएको फोन नम्बरमा जानकारी उपलब्ध गराउन आग्रहसमेत गरेको छ।